दमका एक तिहाइ केसमा प्रदूषण कणहरू जिम्मेवार
काठमाडाैं । विश्वव्यापी अध्ययनहरूले के देखाएका छन भने दमका एक तिहाइ केस प्रदूषणका सूक्ष्म कणहरूको दीर्घकालीन सम्पर्क सँग सम्बन्धित छन् । अध्ययनले के पनि उजागर गरेको छ भने पीएम २.५ मा प्रत्येक १० माइक्रोग्राम प्रति घनमिटर वृद्धि संगै बालबालिकाहरुमा दमको जोखिम २२.४ प्रतिशतले बढ्छ । यसैगरि यहि कारणले वयस्कहरूमा दमको जोखिम ७.१ प्रतिशत वृद्धि हुन्छ ।
म्याक्स प्लान्क इन्स्टिच्युट फर केमिस्ट्रीको नेतृत्वमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनबाट यो जानकारी प्रकाशमा आएको हो । यो अध्ययनमा अनुसन्धानकर्ताहरूले करिब २.५ करोड मानिससँग सम्बन्धित तथ्याङ्कको अध्ययन गरेका छन् ।
विश्लेषण अनुसार लामो समयसम्म प्रदूषण ‘पीएम २.५ ’ का अत्यन्तै सूक्ष्म कणहरूको सम्पर्कले बालबालिकामा मात्र नभई वयस्कहरूमा पनि दमको जोखिम बढाउँछ ।
अनुसन्धानले के पनि पत्ता लगाएको छ भने विश्वभर करिब ३० प्रतिशत नयाँ दमका केसहरू पीएम २.५ सँग जोडिएका छन्, जसले सामान्य मानिसहरूको स्वास्थ्यमा वायु प्रदूषणको गम्भीर खतरालाई उजागर गर्दछ । आश्चर्यको कुरा त के भने यी घटनामध्ये ६० प्रतिशत घटना बालबालिकाहरू सँग सम्बन्धित थिए ।
दमको रोगले विश्वमा कती ठूलो समस्या सृजना गरेको छ भन्ने कुरा अहिले विश्वको करिब चार प्रतिशत जनसंख्या दमबाट पीडित भएको तथ्यबाट अनुमान गर्न सकिन्छ । यति मात्र होइन यो रोगका तीन करोडभन्दा बढी नयाँ केस वार्षिक रूपमा रिपोर्ट भैरहेका छन् ।
वर्तमानमा दम एउटा निको नहुने रोग हो जसले जीवनको गुणस्तरलाई गम्भीर रूपमा असर गर्छ । यसका कारण बिरामीमा खोकी लाग्ने, घबराहट हुने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापर्छन् र मानिसलाई नराम्रो सँग सताउँछ ।
प्रमाणहरू अनुसार वायु प्रदूषणका कारण उत्पन्न हुने पीएम २.५ सँग लामो समयसम्म हुने सम्पर्कले दमको जोखिम बढाउँछ । यसअघिको अनुसन्धानले यस सम्बन्धमा मिश्रित नतिजा सार्वजनिक गरेको थियो। यी मध्ये केही अध्ययनले प्रदूषणका कारण दमका घटनाहरूमा वृद्धि देखाएका छन ।
प्रदूषणका यी सूक्ष्म कणहरू दमका घटनाहरूको वृद्धिसँग सम्बन्धित छन् कि छैनन् भनेर म्याक्स प्लान्क इन्स्टिच्युट फर केमिस्ट्रीसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले चीन, अमेरिका र अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूसँग विस्तृत अध्ययन गरेका छन्। उक्त अध्ययनको नतिजा वन अर्थ जर्नलमा प्रकाशित भएको छ ।
म्याक्स प्लान्क इन्स्टिच्युट फर केमिस्ट्री (जर्मनी), इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्स, चाइनिज एकेडेमी अफ साइन्सेज (चीन), युनिभर्सिटी अफ वाशिंगटन (अमेरिका) तथा मोनाश युनिभर्सिटी (अष्ट्रेलिया)का अनुसन्धानकर्ताहरूले यो अध्ययन गरेका हुन् ।
प्रतिक्रिया