जलवायु परिवर्तनले पारेका असरप्रति विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह

बाकु(अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।
सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूसँग आज यहाँ गरेका सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।
‘जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ, यो कुरा राष्ट्रसंघमार्फत विकसित देशले बुझुन, ‘राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, ‘ यो समस्याको सृजना नेपालजस्ता मुलुकले नगरेको हुँदा यसको न्यूनिकरणका लागि उपपलब्ध स्रोत ऋणमा लिन नसकिने भएकाले अनुदानमा उपलब्ध गराउन आग्रह गर्दछु, ‘बैठकमा राष्ट्रपति पौडेलले भने । सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई परेको छ तर विकसित देशहरुलाई पनि यो समस्या आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको बताए । उनले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसंघले अझ प्रयास गनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रसंघका महासचिव गुटेरसले विपतको पूर्व चेतावनी प्रणाली स्थापनामा अल्पविकसित राष्ट्रहरूलाई प्राथमिकतामा राख्नुभएकोमा राष्ट्रपति पौडेलले आभार व्यक्त गर्दै जलवायु परिवर्तनले आर्थिक र सामाजिक अवस्था कमजोर भएका अल्पविकसित देशहरूलाई सबैभन्दा बढी असर गरेको छ भने ।

प्रतिक्रिया