सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०८१ मंसिर १ गते २०:१३

सुन्दरबजार (लमजुङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताएका छन् ।

लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज यहाँ उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए । ‘सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ’, उनले भने ।

धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरुङले बताए । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सही गलत छुट्टयाउने जिम्मा न्यायालयको भएको बताए । सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उनको भनाइ थियो ।

‘प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरुमाथि पनि अनुसन्धान हुन्छ’, मन्त्री गुरुङले भने, ‘केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधखोज गरिएको छ ।’ देशमा भ्रष्टाचार मौलायो भन्नेहरु नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दैगर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरुङले बताए ।

फरक प्रसङ्गमा मन्त्री गुरुङले देशको सूचना प्रविधि आइटी क्षेत्रको विकासको सुरुआत लमजुङबाट गरिने बताए । नेपाललाई आइटी क्षेत्रका लागि उद्योगका रुपमा विकास गरेर करिब तीन लाख युवालाई रोजगार दिने काममा आफू लागिरहेको उहाँले उल्लेख गरे । रासस

प्रतिक्रिया