स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

फिक्कल (इलाम) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
इलामको चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा निर्मित चुलाचुली आधारभूत अस्पताल सञ्चालन सहयोगार्थ आयोजित समावेशी श्रीमद्भागवत सप्ताह महापुराण समापन समारोह एवम् अस्पताल उद्घाटन कार्यक्रममा आज उहाँले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई परिणाममुखी बनाउने योजनाका साथ काम गरिरहेको बताए ।
मन्त्री पौडेलले स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच हुनेगरी काम गरिरहेको बताए । सरकारी अस्पतालका सेवालाई व्यवस्थित गर्दै लगिएको र सबै नेपालीलाई बिमाभित्र समेट्नेगरी मन्त्रालयले तयारी गरिरहेको बताए । ‘अहिले स्वास्थ्य बिमाबाट रु एक लाखसम्मको उपचार भइरहेको छ, यसलाई बढाएर रु पाँच लाख बनाउने प्रस्ताव गरिएको छ’, उनले भने, ‘स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउन श्रोतको सुनिश्चितका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान गर्ने व्यवस्था मिलाइनेछ ।’
मन्त्री पौडेलले आमनागरिकले स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन सरकार निरन्तर लागिपरेको बताए । ‘पाँचवटा अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र आठवटा अस्पतालमा जलन रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । २९ वर्षमाथिका सबैको क्यान्सर र किड्नी परीक्षण गर्ने कार्यक्रम ल्याउँदैछौँ’, उनले भने ।

प्रतिक्रिया