आइतबार, असार २२, २०८२

सुखद तस्विरका साथ दुखद कथा पनि

सुनिल उलक २०८१ मंसिर ९ गते ११:५५

आज २३ नवम्वर २०२४ ठिक ५५ वर्ष अगाडी आजैको दिन सन १९६९ मा अमेरिकी पिसकोर भोलेन्टियर रिचर्ड फाउ र नेपाली छोरी गीता लावत बिच विवाह भएको थियो । उनीहरुको विवाह हिन्दु परम्परा अनुसार गोदावरी कुण्डमा भएको थियो ।

हाल रिचर्ड तथा गीता दुबै अमेरिकाको कनेक्टिकटमा बस्न्छन् । उनीहरु दुबैले आ-आफ्नै क्षेत्रबाट पिएचडी हासिल गरेका छन् । भने दुबैले समय समयमा पुस्तकहरु पनि लेखिरहेका छन् । उनीहरुको वैवाहिक जीवनको अवसरमा उनीहरुलाई हार्दिक शुभकामना ।

तस्विरमा विवाहित जोडी मात्र होइन विवाहित जोडीलाई शुभकामना दिन आएका छेउमा उभिएका कोट र गलेवन्दमा ढाकाको टोपी लगाएका दरवार हाइस्कुलका तत्कालिन शिक्षक जुजुराम कुशलेको कथा पनि महत्वपूर्ण रहेको छ । उनको कथा अलि पिडादायी पनि छ । हुन त सो विवाहमा शुभकामना दिनका लागि दरवार हाइस्कुलका अन्य शिक्षकहरु निलकान्त लावत, कृष्ण श्रेष्ठ, बलराम मानन्धर तथा रामकुमारी श्रेष्ठ पनि आएका छन् ।

जुजुराम कुशलेले वि.सं. २००७ सालको प्रवेशिका (एस.एल.सी.) परिक्षामा तेश्रो श्रेणीमा उतिर्ण गरेका थिए । वहाँ कुशले वा नेवाः जुगी परिवारमा पहिलो शिक्षित तथा एस.एल.सी. उतिर्ण गर्नु हुने पनि उनी नै हुन् । साथै दरवार हाइस्कुलबाट एसएलसी दिइ त्रिचन्द्र कलेजबाट पनि आइए उतिर्ण गरे पछि उनले दरवार हाइस्कुलमा नै पढाउन थालेका थिए । दरवार हाइस्कुलमा उनले विज्ञान पढाए ।

त्यो समय उनी पहिलो कुशले परिवारबाट आइए पास गर्ने भए । तर त्यसपछि भने उनले सामाजिक अपहेलना झेल्न थाले । एक कुशलेले पढाएको भन्दै स्कुलबाट अविभावकहरुले आफ्ना छोराछोरीलाई निकाल्न थाले । विद्यालय प्रशासनले लामो समयसम्म यो सहेर नै बसे । तर अन्तमा विद्यालयबाट जुजुरामलाई हटाउन दवाव दिन थाले । यसरी बारम्बार दवाव आएपछि उनले नै राजीनामा दिएर स्कुल छोडिदिए ।

उनी केवल शिक्षक मात्र थिए । बालबालिकाका लागि सुनौला कथा संग्रह तथा बाल निवन्ध संग्रह पनि प्रकाशित गरेका थिए । उनले पहिलो पटक कुशले भाषा नेपाली भाषा तथा अंग्रेजी भाषाको कुशले एंग्लो नेपाली डिक्सनरी पनि छपाएका थिए ।

दरवार हाइस्कुलबाट बिदाइ लिए पछि उनले नारायणहिटी दरवारमा मालीको जागीर खाए । पढेलेखेको भए पनि उनले आफ्नो पढाइ अनुरुप र चाहना अनुरुप काम गर्न पाएन । समाज यतिसम्म तल्लो स्तरको हुनेमा उनी विश्वास नै गर्न सकेका थिएन । तर पनि उनले सहन खोजे । समय बित्दै गयो । उनलाई समाजको ब्यबहारले भित्र भित्र सताइरह्यो । एकान्तमा बस्ने र मानिसहरुसंग बोलचाल घटाउँदै गए । यस्तैमा एकदिन उनले आत्महत्या गरे । एक दलित वर्गको कुशलेले पढेको तथा शिक्षा दिएको यो समाजलाई सह्य भएन । त्यसैले उनले यो समाज नै त्यागिदिए । यो समाज भएको दुनियाँ नै त्यागिदिए ।

यो तस्विर र उनी दरवार हाइस्कुलमा शिक्षक साथीहरुसंग बसेको तस्विरले सधै मेरो आँखा रसिलो बनाइरहन्छ ।

प्रतिक्रिया