शनिबार, असार १४, २०८२

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा, नयाँ छैन केही, सबै नीतिगत व्यवस्थाहरु पुरानै

नेपालखोज २०८१ मंसिर १४ गते १४:४१

काठमाडौं । नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैकले आज शुक्रबार यसअघि सार्वजनिक भएको पुरानै नीतिगत व्यवस्थाहरुलाई यथावत राखेर चालु आवको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई छ दशमलव पाँच प्रतिशतमा यथावत राखिएको छ । यसैगरी अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि राष्ट्र बैंकले यथावत राखेको छ । मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्नगई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको क्रममा प्रत्यक्ष/परोक्ष रुपमा सहयोग पु¥याउने मौद्रिक नीति सुझाव समिति लगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीतिको कार्यान्वयनमा सदाभैmँ सबैको सहयोग रहने राष्ट्र बैंकको भनाई छ । अधिकांश केन्द्रीय बैंकहरुले नीतिगत दर घटाउन शुरु गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर–खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान छ । यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति पाँच प्रतिशतको सीमाभित्र रहने अनुमान छ । भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू–राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्नसक्ने जोखिम भने यथावत छ ।

राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने अनुमान छ । यस बैंकले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध साधनबाट आर्थिक वृद्धिमा सहयोग पु¥याउने गरी तरलता व्यवस्थापन गर्दै आएको छ ।

अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको मौद्रिक नीतिमा उल्लेख छ।

प्रतिक्रिया