राशिअनुरुप कस्ताे पेसा-व्यवसाय गर्ने ?
कुनै पनि काम सुरु गर्नुअघि ज्योतिषी परामर्श लिने चलन छ । राशिअनुरुप काम गर्दा सफलता हात पर्ने अन्यथा असफलता बेहोर्नुपर्ने मान्यता रहिआएको छ । ज्योतिषशास्त्रअनुसार कुन राशिका लागि कुन काम अनुकूल मानिन्छ त ?
मेष : मेष राशि भएका व्यक्तिका लागि व्यापारको तुलनामा जागिर अनुकूल मानिन्छ । सरकारी क्षेत्रमा राम्रो परिणाम दिन सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ रातो हो । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ हुन्छ ।
वृष : यो राशि हुनेहरुलाई कलाकारिता फाप्छ । यो राशिका कुनै ब्यक्ति गाडीका पार्टपुर्जा, इलेक्ट्रिकल सामान वा चलचित्र वा संगीतसँग सम्बन्धित व्यापारमा छन् भने शुभ फल लिन सक्छन् । सेतो रङ यो राशिको शुभ रङ हो । किरानाको व्यापार पनि फाप्ने यो राशिका स्वामीहरुले सकेसम्म हरियो कपडा प्रयोग गर्नु हुँदैन । यो राशिलाई समग्रमा जागिर पनि फापेको पाइन्छ ।
मिथुन : यो राशि भएका व्यक्तिले जागिर नै गरेको राम्रो हुन्छ । शुभ रङ हरियो भएको यो राशिका व्यक्तिहरुले कला क्षेत्रमा निकै राम्रो गर्न सक्छन् । यिनीहरुले अध्यापनको क्षेत्रमा पनि सफलता हासिल गर्न सक्छन् । यो राशि हुनेहरुले एकाउन्ट, फाइनान्स वा गणित विषय लिएर पढ्न फलदायक हुन्छ । व्यापारमा कृषिजन्य सामग्री वा कृषिको व्यापार फलिफाप होला ।
कर्कट : यो राशि भएका व्यक्तिले जागिरभन्दा व्यापार नै गरेको उत्तम हुन्छ । सक्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, रेशम, सौन्दर्य सामग्री, रङ, जलमा हुने वस्तु आदिको कारोबार फाइदाजनक हुनसक्छ । जागिरमा बैंकिङ क्षेत्र अनुकूल होला ।
सिंह : यो राशिका स्वामीलाई जागिर नै फाप्छ । यो राशि भएकाहरुले बसेर गर्ने काम जस्तो- लेखापाल, कम्प्युटरको काम आदि गर्नु उपयुक्त होला । व्यापारतर्फ कपडाको व्यापारबाट बढी लाभ लिन सकिन्छ ।
कन्या : कन्या राशि भएकाहरुलाई जागिरको तुलनामा व्यापार नै बढी फाप्छ । त्यसमा पनि चिनीजन्य वस्तुको व्यापार लाभदायक रहला ।
तुला : यो राशिलाई जागिर बढी फाप्छ । यो राशि भएका व्यक्तिले अभिनय, संगीत, सेना, व्यवस्थापन, कानुन, बैंक, बिमा, फाइनान्स, मेसिनरी तथा कम्प्युटरको काम गर्नु उपयुक्त हुन्छ । व्यापार नै गर्ने हो भने पनि यिनै क्षेत्रसँग सम्बन्धित काममा हात हाल्नुहोला ।
वृश्चिक : यो राशि भएका व्यक्तिलाई जागिर बढी फाप्छ । रक्षा, कानुन, सामाजिक सेवा, राजनीति आदि क्षेत्र अनुकूल हुन्छन् । रातो रङ यो राशिको शुभ रङ हो भने कतिपयलाई सरकारी जागिर पनि फापेको पाइन्छ ।
धनु : सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म, म्यानेजेरिङ आदि काम शभ फलदायक हुन्छन् । यो राशिका लागि जागिरभन्दा व्यापार राम्रो मानिन्छ। ठेक्कापट्टाबाट पनि निकै राम्रो आम्दानी लिन सकिन्छ ।
मकर : यो राशिका लागि व्यापार बढी अनुकूल देखिन्छ । मेसिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इन्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, वैज्ञानिकजस्ता पेसा बाट बढी लाभ लिन सकिन्छ । यो राशिले पानीसँग सम्बन्धित काम भने नगर्नु मै भलो हुन्छ ।
कुम्भ : यो राशि भएका व्यक्तिहरुलाई व्यापार फाप्छ। मेसिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इन्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, वैज्ञानिक जस्ता पेसा यो राशिका लागि अनुकूल हुन्छ ।
मीन : यो राशि हुनेहरुलाई जागिर फाप्छ । भेइकल, गुप्तचरीको काम, फायर सर्भिस तथा अदालती सेवा आदि पनि लाभदायक होलान् ।
प्रतिक्रिया