सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल

नेपालखोज २०८१ मंसिर १९ गते १८:०७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारका विरुद्ध, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताए ।

संविधानसभामार्फत संविधान निर्माणका क्रममा आफ्नो पार्टीले फरक मतका रुपमा छाडेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि बढाइने घोषणा गर्दै अध्यक्ष दाहालले गणतन्त्रलाई जनताको व्यवस्था बनाउन निरन्तर लागिपर्ने बताए । नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उनले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुआत गरिसकिएको स्पष्ट पारे ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले क्रान्तिको एक चरण पूरा भएको उल्लेख गर्दै अबको सङ्घर्षको स्वरुप सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित भएको बताए । विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीलाई पुनर्गठित गरेर लैजानुपर्ने आवश्यकता औँल्याए । माओवादी केन्द्रका नेता चक्रपाणि खनालले शोषित पीडित जनताका पक्षमा भएको माओवादी आन्दोलनको नेतृत्व अध्यक्ष दाहालले गरेका बताए ।


अध्यक्ष दाहालसहित नेताहरु सम्मानित

गणतन्त्र सेनानी कोषले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । गणतन्त्र स्थापनाको पक्षमा नेतृत्वदायि भूमिका निर्वाह गरेको भनी अध्यक्ष दाहालसहित पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन तथा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई आज यहाँ एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना, संविधानसभाको निर्वाचन, गणतान्त्रिक संविधान निर्माणलगायत कार्य गरेकामा उनीहरुलाई सम्मान गरिएको कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने गोपाल पाण्डे, सुरेन्द्र भुजेल, भक्तबहादुर थापा, वासु लामिछाने, ललित श्रेष्ठ, देवीप्रसाद ढकाल, माइला लामा, सुशीला थापा, सपना राना, मीना वाइवा पाख्रिन, सुनील पुलामी, जगबहादुर न्यासुर, बिमला बराइली, रेणुका चौलागाईलगायतलाई ‘गणतन्त्र सेनानी सम्मान’ प्रदान गरेका थिए ।

प्रतिक्रिया