नेवा: हरुको प्रेम दिवस ‘मतिना पारु’को शुभकामना

मतिना पारु यस्मरी पुन्हीको सांस्कृतिक र धार्मिक महत्व आफ्नै किसिमको होला । तर यस दिनको एउटा महत्वपूर्ण पक्ष युवायुवती बिच प्रेमको प्रस्फुटन पनि यसै दिनबाट हुने विश्वास गरिन्छ ।
मध्ययुगीन समाज झै आजको ५०/६० वर्ष अगाडि सम्म युवायुवती बिच निकटता हुनु निकै कठिन हुने गर्दथ्यो । जसले प्रेमको शुभारम्भ वा प्रेमिल क्षणको कल्पना गर्नु पनि टाढाको कुरा हुन्थ्यो ।
बाटोमा हिड्दा टिकीझ्यास् सँझ्याःमा देखिने हल्का सौन्दर्यको भरमा नै युवती राम्री वा नराम्री कल्पना गर्नुपर्थ्यो । कहिले काँही पानी थाप्न गएका भिडमा देख्न पाइन्थ्यो । विवाह भनेको परिवारले रोजि दिएकोसंग नै गर्न बाध्य हुने गर्दथ्यो । मन पर्दैन वा गर्दिन भन्ने बिरोधाभासका कुरा परिवार सुन्न नै चाहदैनथ्यो ।
यस किसिमको सामाजिक परम्पराबीच पनि केही साँस्कृतिक पर्वहरुले भने युवा युवती बिच आकर्षण पैदा गर्दथ्यो । कतै अचानक देखिएकी वा साथी भाइको निकट सम्बन्ध भएकी युवती प्रति एकोहोरो चाहना जन्मिए पछि प्रेमको अंकुरण, यस्मरी पुन्हीको साँझ मनाइने त्यस् छिं त्यस् फ्वनेगु ज्याझ्यस् अर्थात घर घर यस्मरी माग्न जाने उत्सवमा हुने गर्दथ्यो । साथी भाइको साथ युवतीको घर जाने र गीत गाएर जिस्काउने गरिन्थ्यो ।
त्यस्छिं त्यस् वकछीं त्यस् लातापाता कुलिचाँ जुस त्यः ।
यस्मरी च्वामु उकिई दुने हामु, ब्युसा माकु मब्युसा फाकु ।।
ब्युम्ह ल्यासे मब्युम्ह बुरि कुति ।
यस गीतमा यस्मरी दिनेलाई तरुनी भनेर भनिन्थ्यो भने नदिने घरमा बुढी भन्दै भाग्दथे । यसरी प्रेमको अंकुरण भए पनि यो प्रेम बढ्दछ भन्ने हुदैनथ्यो । युवतीको मनमा पनि प्रेमिल भावको अंकुरण भएमा मन्दिर जाने बहानामा भोलिपल्ट भेट गर्दथे । त्यसैले यस्मरी पुन्हीको भोलिपल्टको दिनलाई ‘मतिना पारु’ भनिन्थ्यो । मतिनाको अर्थ प्रेम हो भने पारु पूर्णिमाको भोलिपल्टको दिन हो । तसर्थ यस दिनलाई प्रेम दिवसको रुपमा लिइन्थ्यो ।
यस्मरी पुन्हीको दिन जिस्काइएकी युवती भोलिपल्ट यदि भेट गर्न तैयार भए भने दुइ बिच प्रेमको मिठो शुभारम्भ हुन्थ्यो । लुकिछिपि मन्दिर जाने बहानामा वा पानी भर्न जाने बहानामा भेट्दथे । यसरी प्रेमिल जोडी तीन महिना पछि फेरी नजिकिने र जिस्किने अवसर अर्को सांस्कृतिक पर्वले दिन्थ्यो । त्यो दिन फागुको दिन हुने गर्दथ्यो । फागुको दिन अबिर खेल्ने बहानामा फेरी नजिक हुन्थे । र गीत गाउँदै एक अर्कोलाई जिस्काउथे ।
अबिरया होली तँचायाला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दय्काबि
भन्दै अबिरको होलीले तिमी रिसायौ होला तर अबिरले तिमी अझै राम्री देखेकी छौ भन्दै जिस्काईन्थ्यो । यसको जवाफमा युवतीले पनि यसो भन्थे
न्हापा लिपा मछासां थौंला प्याखँ हिला ब्यु
झीतनं मिजं तय्थें अबिर तया ब्यु
पहिले पहिले लाज माने पनि आज एक पटक नाची देउ, हामीलाई पनि केटाहरुलाई झै अविर दलिदेउ । त्यस्तै
झ्यालय् च्वंगु तुकंमां व हे ल्यासे जित मां
व ल्यासे मदय्कं जा हे मनया
झ्यालमा झुन्ड्याईएको सागको माला, त्यही झ्यालमा बसेकी युवती मलाई चाहियो । यदि ती युवती पाइन भने म भात नै खाँदिन भन्दै गीत गाईन्थ्यो ।
यसरी यस्मरी पुन्हीमा शुरु भएको प्रेम फागुमा अझ झांगिन थाले पनि संकुचित बिचार भएको त्यो बेलाको समाजमा थोरैमात्र प्रेम सफल भएर विवाह तर्फ पुग्ने गर्दथ्यो । तर पनि यि प्रेमिल दिनका प्रेमिल सम्झनाहरु आज असी वा नब्बेको दशक पुगेका बृद्ध बुबाआमाहरुबाट बेला बेला सुन्न पाइन्छ ।
चाहे राजामतीको कथामा होस वा सिलुको कथामा होस् । पति पत्नी होस वा प्रेमि प्रेमीका हरेक प्रेम सफल हुन्छ भन्ने हुदैन । तर everything is fair in love and war भनिए झै विवाह वा साथ पाउन असफल हुने सम्भावना भए पनि प्रेमको सम्भावना भने सधै हुने गर्दछ । यसरी त्यसबेलाको समाजमा पनि युवायुवती बिच विवाह अगाडि पनि प्रेम सम्बन्ध हुन्थे । तर निकै कम मात्र सफल हुन्थे ।
प्रतिक्रिया