सोमबार, वैशाख १५, २०८२

भ्रष्टाचार मुद्दामा जेलमा रहेका मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ

नेपालखोज २०८१ पुष ४ गते १४:१४

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ ।

७३ वर्षीया रोसमाह मन्सोरमाथि सन् २०१३ को डिसेम्बर ४ देखि सन् २०१७ को जुन ८ को बीचमा ७१ लाख रिंगिट (झण्डै १६ लाख अमेरिकी डलर) सहित सम्पत्ति शुद्धीकरणसम्बन्धी एक दर्जनभन्दा बढी आरोप लगाइएको थियो ।

उच्च अदालतका न्यायाधीश के मुनिआन्डीले सबै १७ वटा आरोपमा ‘सत्यता, औचित्यता र वैधानिकताको अभाव’ भएको भन्दै खारेज गर्दै ‘सफाइ’ को आदेश दिएको एएफपीलाई प्राप्त भएको निर्णयको प्रतिलिपिमा उल्लेख छ । महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को सेप्टेम्बरमा भ्रष्टाचारको अभियोगमा रोसमाहलाई १० वर्षको जेल सजाय सुनाइएको थियो तर उहाँले उक्त सजायविरुद्ध अपिल गरी जमानतमा छुट्एको थियो ।

उनविरूद्ध आफ्नो पतिको शासनकालमा बोर्नियो टापुको मलेशियाली भागमा ग्रामीण विद्यालयहरूको लागि सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न सहयोग पुर्याएको भन्दै एक कम्पनीसँग घूस लिएको आरोप लगाइएको थियो।

रोस्माहको महङ्गा ह्यान्डब्याग, लुगाफाटा र गहनाको विशाल सङ्ग्रहको लागि मलेसियालीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् । सन् २०१८ को चुनावमा पतिको पराजयपछि उहाँको घरमा प्रहरीले छापा मारेपछि उनका विलासिताका सङ्ग्रहबारे चर्चा भएको थियो ।

उनलाई विलासी जीवनका लागि फिलिपिन्सकी पूर्व प्रथम महिला इमेल्डा मार्कोससँग तुलना गरिएको थियो र सत्ताच्युत गरिएका पूर्व प्रधानमन्त्रीको सत्ताले आर्थिक रूपमा सङ्घर्षरत र मध्यमवर्गीय मलेसियालीहरूसँग सम्पर्क गुमाएको आरोप लगाइएको थियो ।

प्रतिक्रिया