शुक्रबार, वैशाख १२, २०८२

‘म पहिलो पटक हिमाञ्चल प्रदेशको धर्मशाला पुगे’

सुनिल उलक २०८१ पुष १३ गते १४:४०

काठमाडौं । ३३ वर्ष अगाडि २०४८ सालको पुषमा म पहिलो पटक हिमाञ्चल प्रदेशको धर्मशाला पुगेको थिएँ । यस पछि २०५१ सालमा पनि पुगे । धर्मशाला जानका लागि नजिकको रेलवे स्टेशन चक्की बैंक थियो ।

गोरखपुरबाट जम्मुतावी जाने रेल चढेर पठानकोट पुगेपछि चक्की बैंक रेलवे स्टेशनमा झरेपछि बस चढेर धर्मशाला पुग्न सकिन्थ्यो । धर्मशालाको नाम यहाँ रहेको भाक्सुनाग मन्दिरका कारण भाक्सु पनि भन्ने गरिन्छ । भाक्सुमा नेपालीको ठूलै संख्या रहेको छ ।

भाक्सुमा नेपाली रहनुको कारण यहि नजिकै रहेको कांगडाको किल्ला हो । त्यतिबेलाको नेपाल सरकार निकै महत्वाकांक्षी बन्दै पश्चिम विजय गर्दै कांगडासम्म पुगेको थियो । कांगडाको किल्लामा वीर योद्धा बडाकाजी अमरसिंह थापा थिए । उनका साथमा धेरै नै गोर्खाली सैनिक र तिनका परिवार थिए । कांगडा किल्लामा चारैतिर घेरा हालेर अंग्रेज सरकारले आक्रमण गर्दा भिमसेन थापाका भाइ काजी नैनसिंह थापा शहिद भएका थिए ।

वास्तवमा नैनसिंह अंग्रेजको किल्लामा आक्रमण गर्नका लागि पुगेका थिए । तर अमरसिंह थापाबाट एकसाथ अंग्रेजविरुद्ध आक्रमण गर्न सहयोग पाएनन् । यता देउथलको किल्लामा भक्ति थापा शहिद भएका थिए । जसले गर्दा पछि सन्धी गर्न बाध्य हुँदा विजय गरेका अधिकांश नेपालको भूमी गुमाउनु परेको थियो ।

यहि कांगडाको किल्लाको सुरक्षा गरेर बसेका गोर्खाली सैनिकहरु र उनको परिवार नै पछि भाक्सुमा बस्ने गरेका हुन् । भाक्सु जस्तो सानो शहरमा पनि करिव १ लाख नेपाली रहेको अनुमान गरिएको छ । यहि नजिकै रहेको टोटारानी भन्ने गाउँमा नेपाली गीत संगीतका महान गायक मास्टर मित्र सेनको जन्म भएको थियो ।

भाक्सुमा करिव दुइ हप्ता जति बस्दा वरपरका गाउँ वा स्थल घुमेको थिएँ । नजिकै रहेको कांगडा किल्ला, कांगडा मन्दिर, ज्वालादेवीको मन्दिर, दलाइ लामाको बसोबास रहेको स्थल, डल झिल, टोटा रानी सबैजसो घुमेको थिएँ ।

भेनाको घर भाक्सुको दाडी भन्ने ठाउँमा थियो । त्यहाँ हामी बसेका थियौ । हिन्दी भाषामा दारको अर्थ बाटो हुन्छ । शायद माथिल्लो बाटो उपरली दार र तल्लो बाटो झिकली दारका रुपमा रहन गए पछि त्यो समुच्च भाग नै दार हुन पुग्यो र पछि दाडी भनिएको हुनुपर्छ । दाडी नजिकै हाल विश्व स्तरको क्रिकेट मैदान बनेको छ । जहाँ क्रिकेटका विश्व स्तरिय एकदिने खेल हुने गर्दछ ।

एकदिन हामी दाडीबाट बस चढेर कोतवाली बजार पुगेका थियौ । कोतवाली बजारबाट मैकलोडगञ्ज पुगेका थियौ । अघिल्लो दिन हिउँ परेको हुँदा बाटो भरि हिउँ देखिन्थ्यो । मैकलोडगञ्जबाट दलाइ लामाको मन्दिर पुगे पनि त्यस दिन दलाइ लामा भेट्न पाएनौ । तसर्थ हिड्दै डल लेक पुगेर त्यहाँबाट सानो गाउँ टोटारानी पुगेका थियौ । त्यतिबेला त्यो पुग्दै गरेको गाउँ नेपाली गीत संगीतका युगपुरुष मास्टर मित्रसेनको गाउँ भन्ने सोचेकै थिएनौ । टोटारानी नाम सुने पछि मैले थाहा पाएँ मित्रसेनको जन्म गाउँ हामी पुगेका हौ ।

मास्टर मित्रसेनको जन्म जयन्ती केही दिनमा आउँदैछ । यसैले पनि यो यात्रा कथा याद आयो । यहाँ राखिएको तस्विर भने मैले खिचेको होइन । कोटवाली बजार र टोटारानीको तस्विर म पुगेकै समय आसपासको हो भने धर्मशालाको तस्विर करिव दश वर्ष पछिको हो । तर पनि दुबै तस्विरले म पुगेको समयको याद ताजा गराउँछ ।

प्रतिक्रिया