‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
आज धनगढीमा आयोजित नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा पत्रकारिता क्षेत्रले सुरुआती दिनदेखि नै सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरिन् ।
मन्त्री राणाले लोकतन्त्र स्थापना र यसको सदृढीकरणमा सङ्गठित रूपमा भूमिका खेल्दै आएको महासङ्घको औँचित्य निरन्तर बढ्दै गएको समेत बताइन् ।
‘पत्रकार महासङ्घले पेसागत हकहितबाहेक व्यावसायिक र मर्यादित पत्रकारिताका लागिसमेत योगदान गर्दै आएको छ । त्यसैले पत्रकारिता क्षेत्र बलियो भएमा लोकतन्त्र पनि बलियो हुन्छ भन्ने मेरो बुझाइ छ । यसकारण मैले महासङ्घलाई एउटा बलियो नागरिक संस्थाका रूपमा बुझेको छु’, उनले भनिन् ।
मन्त्री राणाले नेपालको संविधानले निर्वाध प्रेस स्वतन्त्रतालाई जोड दिएको उल्लेख गर्दै त्यसको सही प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । रासस

प्रतिक्रिया