राजा महेन्द्रको व्रतबन्ध

वि.सं. १९६३ असार १७ गते त्रिभुवनको जन्म भएको थियो । सानै उमेरमा राजा पृथ्वी वीर बिक्रमको देहावसान भएपछि केवल ५ वर्ष ५ महिना १० दिनको हुँदा वि.सं. १९६८ मंसिर २७ गते राजा बनेका थिए । साथै केवल १२ वर्ष ८ महिनाको उमेर हुँदा वि.सं. १९७५ को चैतमा भारतको छतरा राज्यका राजा आर्जन सिंह साहिवका दुइ राजकुमारी कान्ती र इश्वरी राज्य लक्ष्मीसंग विवाह भएको थियो ।
यो विवाह महाराजाधिराजको भएको हुँदा पनि विशेष थियो । यस अगाडि र यस पछि पनि युवराज छदै विवाह हुने गरेको मात्र इतिहास भेटिन्छ । राजा त्रिभुवनको उमेर केवल १३ वर्ष ११ महिना १३ दिनको हुँदा वि.सं. १९७७ जेठ ३० गते जेठी महारानी कान्ति राज्य लक्ष्मीको कोखबाट जेठा छोरा महेन्द्रको जन्म भएको थियो । त्यति बेला रानी कान्तीको उमेर केवल १३ वर्ष ११ महिना मात्रै थियो । सानै उमेरमा बाबु बनेका राजा त्रिभुवनको छोरासंग त्यति राम्रो सम्बन्ध थिएन ।
राणा परिवारसंग बैबाहिक सम्बन्ध गाँस्न नचाहदा नचाहदै पनि श्री ३ जुद्धले छोरा युवराज महेन्द्रको विवाह आफ्नो नातिनी तथा हरिशम्शेरको छोरी इन्द्र राज्य लक्ष्मीसंग गराइदिएका थिए । राजा त्रिभुवनको कतिपय राणा विरोधी कृयाकलापको जानकारी छोरा महेन्द्रले ससुरा हरिशम्शेरलाई गएर सुनाइ दिन्थे ।
देशमा प्रजातन्त्र आउनु केही पूर्व वि.सं. २००७ भदौ १९ गते इन्द्रको देहावसान भएपछि पनि राजा र युवराज बिच अनबन शुरु भएको थियो । युवराजले दोश्रो विवाह इन्द्रको बहिनी रत्नसंग गर्न चाहँदा राजा त्रिभुवन र युवराज महेन्द्र बिच बैमनस्यता अझ बढेको थियो ।
युवराज र रत्न बिचको प्रेम सम्बन्धको कारण राजाले युवराज महेन्द्रको युवराजबाट पदच्युत गर्न चाहेका थिए भने युवराजले पनि रत्नसंग विवाह गरि साधारण नागरिक सरहको जीवन यापन गर्ने चाहना राखेका थिए । तर पछि विपी कोइरालाले राजा त्रिभुवनलाई सम्झाए पछि यो समस्या तर्न गएको थियो । बेलायती राजा एडवर्ड आठौले आफ्नो प्रेमिकाको लागि राजगद्दी त्यागेको थाहा पाएका युवराज महेन्द्रले प्रेमिकाको लागि युवराज पद तथा भविष्यको राजगद्दी त्याग्ने मनसाय बनाएका थिए ।
साथमा राखिएको दुर्लभ तस्विर वि.सं. १९८७ मा भएको युवराज महेन्द्रको ब्रतबन्धको हो । श्री ३ भीमशम्शेरको समयमा भएको यस ब्रतबन्ध समारोह बिशेष रुपले आयोजना गरिएको थियो ।
यो तस्विर रङ्गीन बनाइएको हो ।

प्रतिक्रिया