नेपालमा कम्प्यूटरको प्रवेश
प्रत्येक दश वर्षमा नेपालमा जनगणना गर्ने परिपाटी अनुसार २०१८ मा जनगणना गर्दा केन्द्रिय तथ्यांक विभागले सहजताका लागि Facit Calculator मगाएको थियो । यस क्यालकुलेटरमा जनगणनाको हिसाव गर्न निकै समय लाग्नुका साथ साथ धेरै त्रुटीहरु पनि भए । जसले गर्दा २०२८ सालको जनगणनाका लागि आधुनिक कम्प्यूटरको प्रयोग गर्ने निर्णय भयो । तत्कालिन समयमा कम्प्यूटरको प्रयोग भर्खर भर्खर मात्र शुरु भएको थियो । तसर्थ नेपाल सरकारले मन्त्रिपरिषदमा निर्णय गराएर २०३१ पुस १५ मा राजपत्रमा नै प्रकाशित गराएर यान्त्रिक सारिणीकरण विकास समिति (गठन) आदेशको घोषणा भयो ।
जसमा केन्द्रीय तथ्यांक विभागको महानिर्देशक नै पदेन अध्यक्ष हुने बनाइएको थियो । साथै समितिलाई नेपाल सरकार तथा इन्टरनेशनल विजनेश मेशीन (आई.वी.एम.) कम्पनीसंग भएको सम्झौता अनुरुपको भाडामा ल्याउन लागिएको १४०१ कम्प्यूटर सिष्टमका मेशीनहरु सञ्चालन गर्ने तथा आबश्यकता अनुरुप अन्य मेशीन खरीद गरी वा भाडामा ल्याइ सञ्चालन गर्ने अधिकार दिइएको थियो ।
सन १९५९ मा पहिलो पटक आईवीएम १४०१ कम्प्यूटर तैयार भएको थियो । जसको उपयोग धेरै अमेरिकी कम्पनीहरुले गर्न थालिसकेको थियो । जसले गर्दा नेपाल सरकारले पनि सोही कम्प्यूटर भाडामा ल्याउने निर्णय गरेको थियो । अमेरिकामा आईवीएम १४०१ कम्प्यूटरलाई सन १९७१ (२०२८ साल) मा नै विश्राम दिएर सिस्टम/३६० ब्यापक भइसकेको थियो । तर नेपालले भने सोही पुरानो मेशीन तत्कालिन आईवीएमको भाडा दर २५०० अमेरिकी डलर प्रति महिना (रु १ लाख २५ हजार) मासिक तिर्ने गरि एक वर्षका लागि ल्याएको थियो ।
नेपाल सरकारले कम्प्यूटरका सम्बन्धित सबै काम गर्नको लागि २०३१ पौषमा यान्त्रिक सारिणीकरण केन्द्र खोलेको थियो । जुन केन्द्रले यस कम्प्यूटरको प्रयोग गरी १ करोड १३ लाख जनताको तथ्याङ्क प्रोसेस गर्न १ बर्ष ७ महिना १५ दिन लगाएको थियो । एक वर्ष पछिको भाडा छुट गरि २०३५ सालमा आईवीएमले सो कम्प्यूटर अमेरिकी सहयोगमा प्राप्त भएको केवल नेपाली ३ लाख रुपैयामा नेपाल सरकारले नै सुम्पेको थियो ।
२०३५ सालमा नै नेपाल सरकारले यान्त्रिक सारिणीकरण केन्द्रका लागि सिंहदरवार भित्र १९ हजार वर्गफुटको भवन बनाएको थियो । जसको लागत ६० लाख पर्न गएको थियो । मुख्य यान्त्रिक भवनको अतिरिक्त विद्युत भवन पनि बनाएको थियो । जहाँ सरकारी विद्युत आपूर्तिका साथ साथ ब्याट्री तथा जेनेरेटरको ब्यबस्था समेत गरेर तीनै तहको विद्युत आपूर्तिको ब्यबस्था गरिएको थियो ।
अत्याधुनिक यस भवनमा तापक्रम नियन्त्रणका लागि ३० टन र ४५ टनको दुइ एयर कन्डिसन पनि जडान गरिएको थियो । साथै भवितव्य घटना नहोस भनेर अग्नि नियन्त्रणका लागि अग्नि सूचक प्रणाली जडान गरिएको थियो । यस भवनमा अग्नि नियन्त्रणका लागि छुट्टै हालोन ग्याँसको पाइप पनि राखिएको थियो । साथै वारुणयन्त्र कार्यालयसंग सिधा सम्पर्कको लागि छुट्टै टेलिफोनको ब्यबस्था पनि गरिएको थियो । चट्याङले असर नगरोस भनेर लाइटनिङ रड समेत भवनको चारैतिर जडान गरिएको थियो ।
२०३७ सालमा यान्त्रिक सारिणीकरण केन्द्रलाई नाम परिवर्तन गरेर राष्ट्रिय कम्प्यूटर केन्द्र राखियो । यसको लगत्तै २०३८ सालको जनगणनाको लागि बेलायती कम्प्यूटर ICL 2950/10 भित्रियो जुन कम्प्यूटर UNDP/UNFPA को सहयोगमा २० लाख डलर (लगभग २ करोड ५० लाख रुपैया) मा प्राप्त भएको थियो । यस कम्प्यूटरको सहयोगमा जनगणनाको काम १ बर्ष ३ महिना लगाएर सकिएको थियो । २०३९ साल पछि भने काठमाण्डौंमा विभिन्न कम्प्यूटरका निजी संस्थाहरु खुले भने पछि देशभर नै कम्प्यूटरको विस्तार भयो ।
अन्तत नेपाल सरकारले २०५५ कार्तिक ६ गते देखि लागु हुने गरि राष्ट्रिय कम्प्यूटर केन्द्रलाई बिघटन गरेको थियो ।
तस्विरमा देखाइएको नेपाल भित्रिएको पहिलो कम्प्यूटर IBM 1401 मा प्रयोग भएको 729 Tape Drive हो । यो नै त्यो समयको कम्प्यूटरको हार्ड डिस्क थियो । त्यो बेला मेटल डिस्क बनि नसकेको हुँदा प्लास्टिक टेपको प्रयोग गरिएको थियो । यसको क्षमता केवल १६००० अक्षर अर्थात १६ किलोबाइट मात्र थियो । नेपालले सो समय कम्प्यूटरको साथमा 1403 Line Printer पनि ल्याइएको थियो ।
यहि केन्द्रमा आबश्यक तालिम दिनको लागी अमेरिकी पिसकोर भोलेन्टियर मार्क डिओन आइपुगेका थिए । यो तस्विर उनै मार्क डिओनले खिचेका थिए । यसको साथै उनको संग्रहमा अन्य फोटोहरु तथा सो समय प्रकाशित अर्धवार्षिक कम्प्यूटर पत्रिकाहरु पनि रहेका छन् ।
प्रतिक्रिया