पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दरररामसागररनेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो ।
सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ ।
पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माणको काम सुरू गरिएको थियो । निर्माणाधीन अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेशन (विभाजन)को काम बाँकी नै छ ।
अस्पताल भवन निर्माणको काममा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा पुष्कल राईले बताए ।
अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष सुत्केरी गराउने ठाउँ, शल्यक्रिया कक्ष, आकस्मिककक्षलगायत सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ । पर्याप्त शय्या अभावमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।
अस्पताल भवन निर्माणको काममा ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ती भएपछि जिल्ला समन्वय समितिको संयोजनमा गत साउन २७ गते बोलाइएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवाललाई कार्यतालिकासहित कागज गराइएको थियो । मङ्सिर २९ गतेभित्र सबै काम सक्नेगरी सार्वजनिक रूपमा गरिएको ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ ।

प्रतिक्रिया