पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री

नेपालखोज २०८१ पुष २७ गते १४:५४

डुम्रे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्न सक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्यसँगको भेटमा मन्त्री पौडेलले पत्रकारिताको विकासले नै पारदर्शितालाई सुनिश्चित र भ्रष्टाचारलाई न्यूनीकरण गरी सुशासन सुनिश्चित गर्न सक्ने धारणा राखेका हुन् ।

‘पत्रकारिताको विकासले मात्रै देशमा पारदर्शिता सुनिश्चित गर्न सक्छ, देशमा हुने गरेका भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न सक्छ’, मन्त्री पौडेलले भने, ‘पत्रकारको अधिकार र सुनिश्चिताता रक्षाका निम्ति राज्यको पहल जरुरी छ ।’

क्रियाशील तथा श्रमजीवी पत्रकारको प्रभावले नै मुलुकमा लोकतन्त्र ल्याउनमा पनि पत्रकारिताको भूमिका रहेको उनको भनाइ थियो । मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्याको अस्पताल बनाउन पूर्वाधार र उपकरण सहयोग गर्ने सम्झौता भइसकेको बताए ।

उनले भने, ‘भारत सरकारले उपचार केन्द्रलाई उपकरणसहित सहयोग गर्ने भएको छ, भारतीय स्वास्थ्य मन्त्रालयमा योजना पुगेको र अबको केही दिनमा द्विपक्षीय सम्झौता हुनेछ ।’

उनले दमौली अस्पतालको विकासका लागि जग्गा विवाद समाधानका निम्ति अबको मन्त्रिपरिषद् बैठकमा छलफल अगाडि बढाउने प्रक्रिया भएको बताए ।

‘मन्त्रिपरिषद्बाट समस्या समाधान गरी आगामी आर्थिक वर्षमा दमौली अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन बजेटको व्यवस्थापनमा पहल गर्नेछु’, उनले भने ।

सरकार सुधारिएको स्वास्थ्य क्षेत्र बनाउने उद्देश्यले सबै अस्पताल तथा स्वास्थ्य क्षेत्रको सेवा सहज र सरल बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ । साथै उनले पाँच लाख पुर्याउने गरी एकीकृत बिमाको व्यवस्थापकीय प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।

प्रतिक्रिया