सोमबार, माघ २८, २०८१

तान्जानियामा मारबर्ग भाइसरका कारण ८ जनाको मृत्यु : डब्लुएचओ

नेपालखोज २०८१ माघ २ गते १३:०६

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शंकास्पद प्रकोपका कारण आठजनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ ।

Advertisement

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शंकास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रलाई दिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेकाे छ, ‘अहिलेसम्म नौ जनामा संक्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ । रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप संक्रमित फेला पर्न सक्ने सम्भावना छ ।’

डब्ल्यूएचओले तान्जानिया सरकार र प्रभावित समुदायलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिएको छ ।

छिमेकी मुलुक रुवान्डामा तीन महिनाभन्दा बढी मारबर्गको महामारी फैलिएको डब्लुएचओले घोषणा गरेको एक महिना नबित्दै यो घोषणा गरिएको हो । डब्लुएचओका अनुसार मारबर्गले अत्यधिक संक्रामक रक्तस्रावी ज्वरो निम्त्याउँछ । यो चमेरोबाट सर्छ र इबोला जस्ता भाइरसको एउटै परिवारसँग सम्बन्धित छ ।

मारबर्गको ज्वरोसँगै रक्तस्राव र अङ्ग फेल हुने गर्छ र भाइरस संक्रमण पछि हुने मृत्यु दर ९० प्रतिशतको हाराहारीमा पुग्न सक्ने डब्लुएचओले जनाएको छ ।

कागेरा क्षेत्रमा मार्च २०२३ मा पहिलो पटक मारबर्गको प्रकोप देखिएको थियो, जुन लगभग दुई महिनासम्म चलेको थियो, जसमा ६ जनाको मृत्यु भएको थियो भने ९ जना संक्रमित भएका थिए ।

उनले भने, ‘हामी छिमेकी देशलाई सतर्क रहन र सम्भावित संक्रमितको व्यवस्थापनका लागि तयार रहन सुझाव दिन्छौं । हामी अहिले तान्जानियासँग यात्रा वा व्यापार प्रतिबन्धको सिफारिस गर्दैनौँ ।’

डब्लूएचओले भनेको छ कि मारबर्ग सजिलै फैलिँदैन । भाइरस सर्नका लागि संक्रमित बिरामीको शरीरबाट आउने तरल पदार्थसँगको सम्पर्क आवश्यक पर्दछ ।

उनले सावधानी अपनाउन सुझाब दिँदै अगाडि भने, ‘भाइरसको सम्पर्कमा आएका व्यक्ति एक देशबाट अर्को देश वा एक समुदायबाट अर्को समुदायमा पुगेको हुनसक्ने कुरालाई नकार्न सकिँदैन ।’

प्रतिक्रिया