माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमान चलाए ठिक हुन्न : महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आफ्नो पार्टीको सक्रियता सत्ताको लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताएका छन् । सोमबार संवाद डबलीमा भएको कार्यक्रममा गुरुङले ओली सरकारले प्रचण्ड सरकारको सुशासन यात्रालाई निरन्तरता दिनेभन्दा भ्रष्टाचारलाई बढावा दिएकोसमेत आरोप लगाएका हुन् ।
महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने प्रपञ्च गरेको भन्दै त्यसो नगर्न चेतावनी दिए ।
कुलमानको कानुनी तथा संवैधानीक समस्या नभेटेपछि अदालतले पुरानो मुद्धा समय अघिनै पेशी अगाडी तानेकोप्रति आपत्ति जनाउँदै भने,‘घाटामा गएको प्राधिकरणलाई नाफा र अँध्यारो नेपाललाई उज्यालो दिने कुलमानलाई फाल्न अदालत पनि प्रभावमा पर्न गएको हो कि ? आशंका उब्जियो ।’
गुरुङले विधेयकको अध्यादेश जारी गरेर कानून संशोधन गर्ने विषय गम्भीर विषय भएको भन्दै सरकारको नियतमा नै प्रश्न उठेको बताए ।
उनले सर्वोच्च अदालतको आदेश विपरीत सरकारले राष्ट्रिय निकुञ्ज र वन सम्बन्धी कानून संशोधन गर्न खोजेको भन्दै त्यसले मूलुकको विकासको गति कता लैजाने हो भन्दै प्रश्न गरे । उनले सरकारले बहानावाजी गरेर सदन छल्ने काम गरिरहेको भन्दै कुनैपनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया