‘बजार सुनिश्चित छ, जलविद्युत् क्षेत्रमा लगानी गर्नुस्’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । रेमिट हाइड्रोले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युतको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा मन्त्री खड्काले उत्पादित जलविद्युतको बजार सुनिश्चित रहेकाले लगानी गर्न आग्रह गरेका हुन् ।
‘हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार ५ सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युतको बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,’ मन्त्री खड्काले भने ।
विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारको कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । मन्त्री खड्काले निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माण गर्न सक्नेगरी व्यवस्था मिलाइएकाले अब उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नआउने उल्लेख गरे । उनले उत्पादित विद्युतको बजार सुनिश्चित रहेको र प्रसारण लाइनको कामसमेत द्रुत गतिमा हुँदै गएकाले यस क्षेत्रमा लगानी सुरक्षित हुँदै गएको बताए ।
जलविद्युत् क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विनाधितो सहुलियतदरमा प्रभावित क्षेत्रका विपन्न नागरिकलाई २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले उल्लेख गरे । विपन्न नागरिकलाई धनी बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध मुलुक निर्माण हुन नसक्ने उनको भनाइ छ ।
सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गर्दा जलविद्युत् क्षेत्र मारमा परेको भन्दै उनले उक्त आदेशलाई पुनर्विचार गर्न आग्रह गरे । मन्त्री खड्काले सरकारले लिएको लक्ष्य पूरा गर्न यस्ता जलविद्युत् कम्पनीले सहयोग पुग्ने भन्दै समयमै आयोजना सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।
पूर्वमन्त्री एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता आयोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले ताप्लेजुङ जलविद्युत्को प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँ भएको स्रोतको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा लाग्न निजी क्षेत्रलाई आग्रह गरे । रासस

प्रतिक्रिया