सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

म्याग्दी (बेनी) । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताए ।
बाह्र वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए । ‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ’, मगरले भने ।
केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन् । कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख बढी भित्रिएको छ ।
पोखरा र काठमाडाैंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाखको सुन्तला बिक्री भएकोमा यसवर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए ।
‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ’, पाइजाले भने ।
उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । विसं २०६८ मा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तलाखेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, मटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ ।
दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तलाखेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तलाखेती गरेका छ । अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेका छन् ।

प्रतिक्रिया