पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार हो : मुख्यमन्त्री आचार्य

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्र रहेको बताएका छन् ।
जिल्लाको मदाने गाउँपालिका-६ स्थित कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको आज स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै पर्यटन प्रवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
उक्त खानेपानी आयोजना गुल्मी, अर्घाखाँची र प्यूठानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले यसले स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गरे । उनले तीनै तहका सरकारले यसलाई साझा आयोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार प्रदेश सरकारले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन ‘सर्किट’ निर्माण गर्ने योजना अघि सार्दै आएको छ । प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानलाई आपसमा जोडेर आकर्षक पर्यटन सर्किट निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
उनले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राखे ।
‘लुम्बिनी प्रदेश ‘मिनी’ नेपालका रूपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ । यहाँ रहेका पुरातात्विक सम्पदाको संरक्षण गरेर बाह्य पर्यटकलाई भित्र्याउने मुख्य सङ्कल्प प्रदेश सरकारको छ,’ मुख्यमन्त्री आचार्यले भने ।
पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धि, रोजगारीका अवसर, जीवनस्तर सुधार गर्ने मेरुदण्डका रूपमा विकास गर्दै लैजाने उनको भनाइ छ ।

प्रतिक्रिया