‘समस्या सङ्घीयतामा हैन, सङ्घीयता कार्यान्वयन गर्ने भूमिकामा रहेकामा छ’

नेपालखोज २०८१ माघ २१ गते १९:१६

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको सेवा प्रवाह प्रभावकारी नहुँदा सङ्घीयतामा असन्तुष्टि बढेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘सरोकार दर्पण’ पुस्तक विमोचन कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि हरेक गतिविधिमा भइरहेको ढिलाइले जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको बताए ।

अध्यक्ष दाहालले कानुन निर्माणको सवालमा सांसद स्वयं पनि असन्तुष्ट रहेको बताए । राजनीतिक नेतृत्व आफनो भूमिकामा चुकेकै कारण नागरिकमा असन्तुष्टि उत्पन्न भइरहेको उनको भनाइ थियो ।

‘अहिले जनस्तरमा सङ्घीयताप्रति नकारात्मकता सोचाइ बन्दै गएको हो कि भन्ने छ । सङ्घीयता आफैँमा गलत होइन, सङ्घीयताका सिद्धान्त आफैँमा गलत छैनन्,’ अध्यक्ष दाहालले भने ।

उनले संसदीय समितिले पनि जनउत्तरदायी बन्ने हिसाबले काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले सरोकार दपर्ण पुस्तकले संसदीय समितिको कार्यकालमा सम्पन्न गतिविधि, प्राप्त उपलब्धि, देखिएका समस्या, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यमा निर्देश गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया