आयोगले पूर्णता नपाउँदा काम सुरु हुन सकेन

नेपालखोज २०८१ माघ २४ गते १४:०५

झापा । भूमि समस्या समाधान आयोग झापाले कार्यालय स्थापना गरे तापनि काम सुरु गर्न नसकेको जनाएको छ । जिल्ला समन्वय समिति चन्द्रगढीको माथिल्लो तलामा कार्यालय स्थापना गरिएको छ ।

पहिलाको आयोगले गरेको कामलाई नै निरन्तरता दिने आयोगका जिल्ला अध्यक्ष मदन अधिकारीले बताए । विगत एक महिना अघि सरकारले आयोगका जिल्ला अध्यक्ष नियुक्ति गरे तापनि सदस्यहरुको नियुक्ति र कर्मचारी व्यवस्थापन हुन नसक्दा काम सुरुवात गर्न नसकेको उनले बताए ।

उनले भने ‘विगतमा राष्ट्रिय भूमि आयोगले जहाँ पुर्याएर काम रोकिएको छ त्यहीबाट निरन्तरता दिने हामीलाई सरकारको निर्देशन छ ।’ उनले हाल भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको विगतको आयोगले गरेको काम अध्ययन गरिरहेको बताउँदै समितिले पूर्णता पाएसँगै कामलाई तीब्र रुपमा अघि बढाउने बताए ।

अध्यक्ष अधिकारीले जिल्लाका १५ वटै पालिकाहरुमा गरिएका कामहरुको तथ्याङ्क संकलन गर्ने र सो क्षेत्रको अवस्था बुझ्ने काम गरिरहेको जानकारी दिए । ‘कार्यालय नियमित रुपमा सुरु गरियो समितिले पूर्णता पाएको छैन’, उनले भने, ‘सदस्यहरु नियुक्ति हुन र कर्मचारी व्यवस्थापन पनि बाँकी रहेको छ । अध्ययन गर्ने काम मात्र भएको छ । फिल्डमै गएर काम सुरु गर्न सकेको छैन ।’

प्रतिक्रिया