एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

काभ्रे । पाँचखाल नगरपालिका–१ ठाँटी गैरिकोट बस्ने ६१ वर्षीय मंगल बहादुर तामाङ र उनकै छोरा ३२ वर्षीय सन्त बहादुर तामाङलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा.२ ख ७९५८ नम्बरको बस सडकबाट २० फिट तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगंजमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ४३ जना मध्ये २ जनाको केएमसि अस्पतालमा, ९ जनाको एनएमसि अस्पतालमा, १ जनाको मेडिसिटी अस्पतालमा, २ जनाको शिक्षण अस्पताल महाराजगंजमा, १ जनाको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र १ जनाको पिपुल्स लाइफ कियर अस्पतालमा उपचार भइरहेको छ भने २७ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहको सिरहा नगरपालिका–३ स्थित सडकमा रमौलबाट मखनाहातर्फ आउँदै गरेको स.५ प २५१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने ४० वर्षीय शत्रुधन साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया