मनकलीले उत्पादन गरेको सिस्नो पाउडर जापान र कोरियासम्म

ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले विसं २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन आएकी छिन् । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला सहर र विदेश पठाउने गर्नुहुन्छ । चौध वर्ष अगाडि जिल्ला लघु उद्यम सङ्घले दिएको पाँच दिनको तालिमले घर्ती मगरलाई उद्यमी बनायो । उद्यमीसँगै अहिले उहाँ प्रशिक्षकका रूपमा ज्यादा चिनिनुहुन्छ ।
विहान बेलुका घरको काम धन्दामा ब्यस्त हुने मनकली फुर्सदको समयमा काल्नामा उम्रिएको सिस्नो टिपेर प्रशोधन गर्नु हुन्छ । आवश्यक मेसिन नहुँदा पनि उनल घरेलु सामग्री प्रयोग गरी सिस्नोका पाउडर उत्पादन र प्याकेजिङ गर्नुहुन्छ । गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुनुहुन्छ ।
घर्ती मगरले कक्षा पाँचसम्म अध्ययन गर्नु भए पनि सिस्नो पाउडर बनाउन सिक्नेका लागि शिक्षकनै बन्नुभएको छ । वर्षौँ अगाडि गाउँमा एक पटक लिएको तालिमले मनकलीको दैनिकीनै फेरिँदै गएको छ । घरको काम धन्दामा मात्रै सीमित उहाँ अहिले फुर्सद्को समयमा बारीको सिस्नो टिप्ने र पाउडर बनाउने गर्नुहुन्छ । दुर्गम गाउँको सामान्य परिवारकी घर्ती मगरका तीन छोरी र एक छोरा हुनुहुन्छ । श्रीमान् भने वर्षौँदेखि रोजकारका सिलसिलामा मलेसिया पुग्नुभएको छ ।
बागलुङ जिल्लामा अहिलेसम्म व्यवसायिकरूपमा सिस्नोको पाउडर उत्पादक हुनसकेको छैन । धेरै महिलाले तालिम लिए पनि व्यवसायिक रूपमा उत्पादन गर्न तर्फ चासो दिएको पाइँदैन । सिस्नोको पाउडर उत्पादन गर्न निकै झण्झटिलो र धेरै समय लाग्ने हुँदा धेरैले चासो नदिने मनकली बताइन् । एक महिनामा महिनामा करिब १५ किलो पाउडर तयार गर्न सकिने उनको भनाइ छ ।
एक किलो पाउडर उत्पादनका लागि करिब १० किलो काँचो सिस्नो आवश्यक पर्ने भन्दै बढी मेहनत र कम आम्दानी हुने हुँदा धेरैले चासो नदिएको उनको भनाइ छ । विदेश जाने धेरैको रोजाइमा सिस्नाको पाउडर पर्ने हुँदा प्रतिकिलो रु २०० हजारसम्म लैजाने गरेको घर्ती मगरले सुनाइन् । आफूले फुर्सद्को समयमा मात्रै पाउडर उत्पादन र प्याकेजिङ गर्ने हुँदा वार्षिक तीन लाखको हाराहारीमा आम्दानी गर्ने उनको भनाइ छ ।
पहिलेको तुलनामा पछिल्लो समय पाउडरको माग बढ्दै गएको छ भने मूल्य पनि बढ्दै गएको छ । डेढ दशक अगाडि गाउँका अरु महिलाले पनि तालिम लिए पनि उनीहरुले खास्सै चासो दिएनन् । मनकली एक्लैले निरन्तर मेहनत गर्दै जाँदा अहिले अन्य महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । समय–समयमा उहाँ तालिम दिनका लागि ठाउँ–ठाउँमा पुग्नुहुन्छ ।
सिस्नोको पाउडरको माग नेपालमा भन्दा बढी विदेशबाट आउने घर्ती मगर बताउनुहुन्छ । आधुनिक उपकरण भए त्यसभन्दा बढी कमाई गर्न सकिने भन्दै अब व्यवसायलाई थप व्यवस्थित गर्दै खेतबारीमा सिस्नोको खेती गर्ने योजना रहेको मनकलीले सुनाउनुभयो । राज्यले आफूजस्ता उद्यमीलाई व्यवस्थित रूपमा उद्यम गर्न सघाउने भए धेरै महिलाको दैनिकी बदलिने घर्ती मगर बताउनुहुन्छ ।
पाँच दिनको तालिमले आफूलाई अब्बल बनाउन टेवा पु¥याएको उहाँको भनाइ छ । आवश्यकअनुसारको मेसिन नहुँदा अहिले घरमै भएका सामग्रीबाट पाउडर उत्पादन गरेको घर्ती मगरले बताउनुभयो । माघअनुसार उत्पादन गर्न नसकेको उन बताए ।
गाउँमा सहनशीला लघु उद्यम महिला समूह गठन भए पनि सक्रियरूपमा पाउडर उत्पादनमा लाग्न नसकेको घर्तीले सुनाए । पहिले प्रतिकिलो दुई-चार सयमा बिक्री हुने पाउडरको मूल्य अहिले रु एक हजार पर्न थालेको उनले सुनाए । आफूले अहिलेसम्म कुनै पनि निकायबाट अनुदान नपाएको घर्ती मगर बताए ।
ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले महिला उद्यमीहरुलाई पालिकाले निरन्तर सहयोग गर्दै र आवश्यक सीप सिकाउँदै आएको बताए। उद्यमसँग जोडिने हरेक महिलालाई अनुदान दिने र दक्ष बनाउनका लागि तालिम दिने उनको भनाइ छ । आवश्यक सहयोग माग्न आउने हरेक महिला उद्यमीलाई पालिकाले सहयोग गरेको भन्दै सिस्नो पाउडर उत्पादन गर्ने मनकलीलाई पनि पालिकामा आए सहयोग गर्ने उपाध्यक्ष रोका बताए ।
श्रोत : आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया