सोमबार, वैशाख १५, २०८२

जर्मनीमा कन्जर्भेटिभ पार्टीको जित, नयाँ सरकारमा गठबन्धनका लागि बहस सुरु

नेपालखोज २०८१ फागुन १२ गते १४:३१

काठमाडाैं । जर्मनीमा आइतबार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दललाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ ।

कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कूल ६३० सिटमध्ये २०८ सीट जितेको छ । क्रिश्चयन डेमोक्र्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको हो ।

जर्मनीको यो पटकको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको छ । सन् १९९० मा पुन: एकीकरण भएयताको यो सबैभन्दा धेरै मतदान हो ।

जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिस योग्य थिए । तीमध्ये दशौँ लाखले चुनावको दिन अघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका थिए ।

-दोस्रो दल एएफडीलाई २० प्रतिशत मत-

चरम दक्षिणपन्थी दल ‘अल्टर्नटिभ फर जर्मनी’ (एएफडी) दोस्रो ठूलो दल बनेको छ । यो दलले २० प्रतिशत मत पाएको छ ।

‘आज रातभरि हामी उत्सव मनाऔँ, भोलि बिहानैबाट काम गर्नु छ, ’ मेट्र्सले खुसी मनाइरहेका आफ्ना समर्थकलाई बर्लिनमा सम्बोधन गर्दै भनै । उनले आफ्नो अगाडि देखिएका जिम्मेवारीबारे आफू जानकार रहेको बताए ।

प्रतिस्पर्धी एएफडीबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलले समर्थकको बलमा आफ्नो दललाई दोस्रो बनाउन सफल भए पनि उक्त दलले अझै ठूलो जित अपेक्षा गरेको थियो । मत परिणामपछि उक्त दलको मुख्यालय शान्त देखिएको छ ।

सोमबार लागेलगत्तै आएको मत परिणामअनुसार एएफडीले अन्य भागभन्दा देशको पूर्वी भागमा अरू दलभन्दा धेरै मत पाएको छ । सार्वजनिक प्रसारक संस्था जेडडीएफको सर्वेक्षणअनुसार यो दलले पूर्वी क्षेत्रमा ३४ प्रतिशतभन्दा बढी मत पाएको देखिएको छ ।

यसैबीच, निर्वाचन परिणामपछि मतदाता तथा शुभचिन्तकहरूलाई सान्त्वना दिँदै एएफडीका चान्सलरका उम्मेदवार बाइडलले भने, ‘मर्जको पार्टीले गठबन्धन सरकार बनाए पनि त्यो सफल हुनेछैन ।’

उनले भने, ‘जर्मनहरूले परिवर्तनका पक्षमा मतदान गरेका छन् । मलाई अर्को चार वर्ष पर्खनुपर्छ जस्तो लाग्दैन । हामी ताजा चुनावमा जान्छौँ ।’

पूर्वी क्षेत्रबाहेकका सबै स्थानमा अन्य दलभन्दा धेरै मत पाएको सीडीयूले आफ्नो दलबाट चान्सलर बनाउन अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ । हालका चान्सलर ओलाफ स्कोल्जको दल उक्त गठबन्धनमा सहभागी हुन सक्ने आँकलन गरिएको छ ।

स्कोल्जले तीन वटा दलको गठबन्धन गरेर बनाएको सरकार गत वर्ष ढलेको थियो ।

प्रतिक्रिया