शनिबार, वैशाख १३, २०८२

समीरको लुक्स सार्वजनिक गर्दै आगामी फूलपातीमा ‘बलिदान’ रिलिजको औपचारिक घोषणा

नेपालखोज २०८१ फागुन १६ गते १५:१९

काठमाडौं । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेको ‘बलिदान’ को रिलिज मिति औपचारिक रूपमा घोषणा भएको छ । निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले चलचित्रलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सेनले प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै यो चलचित्र नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।

सार्वजनिक गरिएको एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठुलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पुरा गरेपछिको भावमा देखिएका छन् । निर्देशक सेनका अनुसार यो पोस्टरमा समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको दृश्य हो । दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा समाई लतारिरहेका छन् । यो पोस्टरले समीर नरसंहारमा रहेको सङ्केत गर्छ ।

निर्देशक सेनका अनुसार ‘बलिदान’ निर्माणको निर्णय लिनु मात्र सहज थिएन, यसको तयारी, छायाङ्कन र सम्पादन प्रक्रियामा टिमले अपार मेहनत गर्नुपरेको छ । उनले भने, जब मैले यो चलचित्र निर्माण गर्ने सोच बनाएँ, तब यति ठुलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस भएको छ ।

चलचित्रको कथा लेखकहरूसँगको निरन्तर संवादपछि तयार पारिएको सेनले जनाए । उनका अनुसार यो कुनै एउटा समयको कथा मात्र नभई, हिजो, आज र भोलीसम्मको सन्देश बोकेको छ । शोषित वर्गको आवाज बुलन्द पार्न कुनै सम्झौता नगरिएको उनले बताएका छन् । कलाकार छनोटदेखि प्रविधि र प्रविधिजन्य पक्ष, निर्माण व्यवस्थापन, गीत–सङ्गीत र सम्पादनसम्म उच्च स्तरको बनाउन अहोरात्र परिश्रम गरिएको उनले उल्लेख गरे । सेनले चलचित्रको प्रि–प्रोडक्सन प्रक्रिया अब पूर्ण भएको र पोस्ट–प्रोडक्सनको लागि दक्षिण भारतीय चलचित्र उद्योगको प्रविधि र सीप उपयोग गरिरहेको बताए ।

चलचित्रको ‘फस्र्ट ल्यान्डिङ’ प्री–टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जसमा २०८१ सालको फूलपातीलाई रिलिज मिति तोकिएको थियो । तर, अझ उत्कृष्ट प्रस्तुति दिनका लागि एक वर्षको थप समय लिइएको सेनले प्रस्ट्याए । उनले भने, हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न चाहेनौँ, त्यसैले थप समय लिनु उपयुक्त ठान्यौँ ।

चलचित्रमा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । विशेष गरी, चलचित्रको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसले निकै चर्चा बटुलेको थियो । यस चलचित्रमा कलाकारको सशक्त टिम रहेको छ । चलचित्रमा ‘१२ गाउँ’ बाट चर्चामा आएका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको सङ्गीत आर्टमान्डु टिम को सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले चलचित्रका गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरिरहेको छ ।
चलचित्र ‘आसुसेन फिल्म्स्‌ प्रा.ली.’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

टिमले चाँडै नै नयाँ भिडियो कोसेली लिएर आउने जानकारी गराएको छ । निर्देशक सेनले दर्शकहरूको माया र साथबिना यो यात्रा अपूर्ण रहने उल्लेख गर्दै भने, “हामी तपाईँहरूको गाउँ, टोल, बस्ती, घर–जहाँ जहाँ पुग्नुपर्छ, तयार छौँ । जय बलिदान !”

प्रतिक्रिया