एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेले गरे आह्वान

नेपालखोज २०८१ फागुन १६ गते १६:२८

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेले संसारभरि रहेका गैर आवासीय नेपालीहरूलाई आउँदो मे महिनामा काठमाडौँमा भेला भएर संस्थालाई एकजुट बनाउन र नयाँ विधान पारित गर्न आग्रह गरेका छन् ।

उच्चस्तरीय समितिद्वारा बिहीबार भर्चुएल माध्यमद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै घलेले संघको इतिहासमा आगामी अधिवेशन एक कोशे ढुंगा हुने बताए । “यो एनआरएनएको जग हाल्ने अवसर हो। हाम्रो संस्थालाई रुपान्तरण गर्ने अवसर हो। हामीले अधिवेशनबाट नयाँ विधान बनाउने छौं। यो कमिटिको एकदमै बलियो म्यान्डेट छ। कसैलाई दोष दिनु भन्दा पनि ऐतिहासिक उपलब्धिको रुपमा लिएर कहिल्यै पनि विवाद नहुने गरी अगाडी बढ्ने अवसर हो,“ उनले भने ।

“हाम्रो संस्था अहिले सम्म (२२ वर्ष सम्म) टप डाउन रुपमा चलेको छ । समस्या सदस्यतामा छ । समस्या प्रतिनिधि छनोटमा छ । सर्वोच्चले समस्या पहिल्यायो । त्यसैले हामीले सबैलाई डेलिगेट्स बन्न खुला ग–यौं । अब नयाँ विधानमा यो कुरा राख्नु प–यो । बढीभन्दाबढी साथीहरु काठमाडौँमा आउनु भयो भने ठूलो सफलता हुने छ । तपाईंहरुको सहभागिता विना यो सम्भव छैन, उनले भने ।

अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले परराष्ट्र मन्त्रालयबाट पत्र पाएपछि अहिले सम्म १० ओटा बैठक गरिसकेको बताए । “अब (एकता महाधिवेशनका लागि) झन्डै २ महिना बाँकी छ । रात दिन काम गरौँ। हामीले कति दुख ग–यौं आफ्नै भवन बनाउन, तर अहिले उक्त भवन अहिले भाडामा लगाएको छ। त्यो लिजमा दिने, मुनाफा गर्ने ठाउँ होइन। हामीलाई आफ्नै भवनमा बैठक गर्न नदिए पछि हामीले क्याफेमा, होटेलमा गएर पनि बैठक ग–यौं। अब पछाडी सर्दैनौं, अब कसैले पनि हामीलाई रोक्न सक्दैन,“ उनले भने ।

प्रतिक्रिया