नि:शुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’

नेपालखोज २०८१ फागुन १६ गते १७:४५

सुदूरपश्चिम । ‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागी बनौँ’ यो नारासहित थालिएको अभियानले आङ ढाक्ने एकसरो लुगाको अभाव झेल्न बाध्य विपन्न व्यक्तिले राहत महसुस गरेका छन् ।

मानवीय सेवामा समर्पित भएर थालिएको यो अभियान बैतडीको शाहीलेक बजारमा झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकमार्फत कार्यान्वयन भइरहेको छ । बैतडीकै मेलौली नगरपालिका क्षेत्रमा पनि यसको शाखा सञ्चालनमा छ । हुनेखाने सम्पन्न व्यक्ति÷संस्थाले सित्तैमा बैंकलाई ओड्ने ओछ्याउने र लगाउने लुगा उपलब्ध गराइरहेका छन् भने नहुने विपन्न व्यक्तिले बैंकमार्फत निःशुल्क लुगा पाइरहेका छन् ।

मेलौली नगरपालिकास्थित धर्मघर माध्यमिक विद्यालयका शिक्षक लोकराज जोशीले कपडा बैंकले विद्यालयका गरिब एवं विपन्न व्यक्तिका छात्रछात्रा र गाउँका असहाय विपन्न व्यक्तिलाई निःशुल्क ओड्ने, ओछ्याउने, लगाउने लुगा उपलब्ध गराएर उदाहरणीय काम गरेको बताए । उनले भने, ‘हुनेले दिने, नहुनेले लिने यसको मुख्य नारा छ, कपडा बैंकलाई कपडा उपलब्ध गराउनेहरु पनि बढ्दै गएका छन् ।’

स्थानीय गोपालदत्त भट्टले गरिब, दिनदुःखीको सेवाका लागि खोलिएको कपडा बैंक मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताए । ‘बैंकका प्रबन्धक आफैँ विद्यालय तथा गाउँगाउँसम्म पुगेर अतिविपन्न, असहाय र गरिबलाई लुगा उपलब्ध गराउनुहुन्छ,’ उनले भने, “जाडो याममा लुगा किन्नसक्ने क्षमता नभएका धेरैलाई बैंकले न्यानो कपडा उपलब्ध गराएर ठूलो गुन लगाएको छ ।’

कपडा बैंक सञ्चालक महेशदत्त भट्ट झण्डै एक वर्षदेखि सञ्चालित कपडा बैंकबाट यो अवधिमा गरिब एवं अतिविपन्न ९७८ परिवारका व्यक्तिलाई कपडा निःशुल्क उपलब्ध गराइएको बताउछन् । हालसम्म एक सय मनकारी व्यक्तिले बैंकलाई कपडा उपलब्ध गराएर सहयोग गरेका सञ्चालक भट्टले जानकारी दिए ।

पछिल्लो पटक धनगढीका समाजसेवी मायाप्रकाश भट्टले बैंकलाई कपडा उपलब्ध गराएर सहयोग गरेका भने काठमाडौँको ‘प्रयास नेपाल’ले पनि सहयोग उपलब्ध गराएको छ । बैंक सञ्चालक भट्टले यसअघि पनि ‘समाजिक सेवा मेरो अभियान’अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया