‘अवसाद’ उपन्यास सार्वजनिक

काठमाडौं । साहित्यकार रामचन्द्र दाहालको ‘अवसाद’ उपन्यास सार्वजनिक गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानले प्रकाशन गरेको उपन्यास आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।
दाहालको यो पाँचौँ कृति हो भने यसअघि ‘ठोरी जहाँ देश थिएन’ (संस्मरण), ‘हाँडीघोप्टे’ (विगत जीवनको संस्मरण), ‘सुजेरो’ (कविता सङ्ग्रह) र ‘सोपान’ (संयुक्त कविता सङ्ग्रह) प्रकाशित भइसकेका छन् ।
उपन्यास सार्वजनिक गर्दै साहित्यकार नरेन्द्रराज पौडेलले साहित्यका माध्यमबाट उपन्यासकारले मधेशको यथार्थतालाई सार्वजनिक गरेका बताए । मधेशको जनजीवन बुझ्न उपन्यास सहयोगी हुने उनको भनाइ थियो ।
उपन्यासको समीक्षा गर्दै साहित्यकार एवं पूर्वसचिव गोपीनाथ मैनालीले साहित्यकार दाहालले तराई क्षेत्रको सामाजिक जीवनलाई देखाएकाे बताए ।
रु २५० मूल्य तोकिएको उपन्यास १२० पृष्ठ छ । यसमा मधेश केन्द्रित विषय, सुकम्वासी समस्या, तराईमा हुने झै झगडा, रहस्यमय रूपमा मान्छे मारिने घटनाबारे उल्लेख गरिएको छ ।
उपन्यास विमोचनसँगै प्रतिष्ठानले १७०औँ नियमित आख्यान वाचन कार्यक्रम पनि सम्पन्न गरेको छ । प्रतिष्ठानले प्रत्येक महिना बेशीगाउँमा आख्यान वाचन कार्यक्रम आयोजना गर्दैै आएको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल र सचिव अच्युत घिमिरेले प्रतिष्ठानले साहित्यकारका कृति प्रकाशन एवं प्रत्येक महिना गरिने आख्यान वाचन कार्यक्रमलाई निन्तरता दिइरहेको बताए । रासस
प्रतिक्रिया