बुधबार, पुष २, २०८२

पुडुचेरीका विधायकहरू पोखरामा

नेपालखोज २०८१ फागुन २० गते ८:२९

गण्डकी । भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव आदानप्रदानका क्रममा सोमबार पोखरा आइपुगेका छन् ।

गण्डकी प्रदेशसभाको निमन्त्रणमा आएको उक्त भ्रमणदलका सदस्यलाई सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापालगायले ढोका टोपी र माला लगाएर प्रदेशसभा परिसरमा स्वागत गरेका थिए ।

स्वागतपछि आयोजित परिचयात्मक कार्यक्रममा पुडुचेरीका सभामुख सेल्वमले गण्डकी प्रदेशसभाका सभामुखसहित प्रदेशसभा सदस्यलाई पुडुचेरी भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

उनले पोखराजस्तै पुडुचेरी पनि पर्यटकीय महत्वको स्थल भएको बताउँदै दुई प्रदेशबीचको पर्यटन विकासमा भ्रमणले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा गण्डकी प्रदेशसभाका सभामुख धितालले दुई प्रदेशबीच मित्रवत् सम्बन्ध विस्तारमा भ्रमण महत्त्वपूर्ण रहेको बताए ।

त्यस अवसरमा गण्डकी प्रदेशसभाको संरचना, कामकारबाही र उपलब्धिबारे प्रस्तुतिकरण गरिएको थियो । भ्रमण टोलीमा पुडुचेरी प्रदेशका उपसभामुख पी राजवेलु, पर्यटनमन्त्री के लक्ष्मीनारायणनलगायत विधानसभा सदस्यहरू सहभागी छन् ।

उक्त टोलीले पोखराको पर्यटकीय तथा धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया