बुधबार, पुष २, २०८२

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

नेपालखोज २०८१ फागुन २२ गते ७:२०

दमौली । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेको उनले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए ।

बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए ।

त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन ! त्यसैको उदाहरण बनेका छन् ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उनले हाल ५० रोपनीमा विस्तार गरेका छन् ।

उनले बाह्रैमास तरकारीखेती गर्छन् । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उनको बारीमा ।

पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिए । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उनले बताए ।

तरकारीखेती गरिरहेको सबै जग्गा भने उनको आफ्नै होइन । वार्षिक रु दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिएका छन् । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाएका छन् ।

विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएका छन् ।

हाल उनकी एक छोरी विदेश र छोरा शिक्षक हुनुहुन्छ । रु ३० लाख खर्चेर बस्न लायक घर बनाउनुभएको छ । आफ्नै नाममा दुई रोपनी जग्गा जोडेका छन् । तरकारीको बजारीकरणका लागि बोलेरो जिप, मोटरसाइकल र स्कुटर किनेका छन् ।

आफ्नो व्यवसाय विकासका लागि बन्दीपुर गाउँपालिका र कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको ढकालले जानकारी दिए । तीन वर्षसम्म टनेल प्रविधिमा सहयोग पाएको उनले बताए । व्यवसायी ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताए ।

प्रतिक्रिया