दिक्तेल–रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले जनाए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो ।
निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ, उनले भने, दिक्तेल–रेग्मीटार सडक निर्माणमा नगरपालिकाको ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि रु ४० लाख बजेट उपलब्ध गराएको छ । यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित ४० लाख र २०८०/८१ मा विनियोजित २० लाख खर्च भएको जनाइएको छ ।
नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए। नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्माणाधीन सडकलाई विकल्पका रूपमा गत वर्ष हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको थियो ।
दिक्तेल–रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए ।

प्रतिक्रिया