निर्यात व्यापार बढ्यो, साता महिनामा एक खर्ब २७ अर्बको वस्तु निर्यात

काठमाडौं । मुलुकको निर्यात व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको सात महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६ दशमलव पाँच प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा सात दशमलव एक प्रतिशतले कमी आएको थियो ।
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६ दशमलव नौं प्रतिशत, आठ दशमलव छ प्रतिशत र तीन दशमलव छ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु आयात १० दशमलव एक प्रतिशतले वृद्धि भई नौं खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा दुई दशमलव तीन प्रतिशतले कमी आएकोे थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव पाँच प्रतिशत, ११ दशमलव दुई प्रतिशत र १७ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा छ दशमलव दुई प्रतिशतले वृद्धि भई आठ खर्ब ६१ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा एक दशमलव आठ प्रतिशतले कमी आएकोे थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ दशमलव नौं प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौं दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब तीन अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना ज्ञघ। वृहत आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३७ दशमलव चार प्रतिशत र ६१ दशमलव आठ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात शुन्य दशमलव आठ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुुपात क्रमशः ५६ दशमलव चार प्रतिशत, शुन्य दशमलव २५ प्रतिशत र ४३ दशमलव चार प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५१ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको अनुपात आठ दशमलव नौं प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३९ दशमलव नौं प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४९ दशमलव दुई प्रतिशत, आठ दशमलव नौं प्रतिशत र ४१ दशमलव आठ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया