राजा महेन्द्रको राज्यारोहण

२०११ फागुन ३० गते राजा त्रिभुवनको देहावसानको शोक थियो भने अर्को तर्फ नयाँ राजा महेन्द्रको राज्यारोहणको कार्यक्रम पनि थियो । राजा त्रिभुवनको स्विटजरल्याण्डको ज्यूरिच शहरमा देहावसान भएको समाचार काठमाडौमा प्राप्त हुनासाथ नयाँ राजाको लागि तैयारी शुरु भइसकेको थियो । नेपाली समय अनुसार फागुन ३० गते रातीको ८ बजे तिर राजा त्रिभुवनको निधन भएको हुँदा रातमा कुनै कार्यक्रम राखिएन ।
राजा त्रिभुवनको देहावसान हुनु अगाडि नै युवराज महेन्द्रको राजकाज माथि हस्तक्षेप भइसकेको थियो । अर्को अर्थमा भनौ भने कूटनीति शुरु भइसकेको थियो । पहिलो त राजा त्रिभुवन बिमार दोश्रो राज्यकुशलतामा पनि कमि थियो । श्री ३ जुद्ध शम्शेरले बाल राजाको समय देखि नै अधिकारबाट बञ्चित गरेको तथा मोजमस्ति र रमाइलोमा नै भुलाइएको हुँदा पनि राज्य मोहमा कमि थियो । दोश्रो पटक उपचारका लागि यूरोप जाँदा नै युवराजधिराज महेन्द्रलाई केही अधिकारहरु दिएर नै गएका थिए । त्यसमा पनि यूरोपमा उपचाररत हुँदै दोश्रो पटक हृदयघाट भए पछि युवराजलाई यूरोपमा नै बोलाई आफ्नो अधिकारहरु महेन्द्रमा हस्तान्तरण गरेका थिए ।
२०११ फागुन ४ गते युवराज महेन्द्र फ्रान्सको निस शहर जहाँ राजा त्रिभुवन उपचार पछि आराम गर्न पुग्नुभएको थियो, त्यहीँ पुगेर राजाबाट सम्पूर्ण अधिकार लिएर फर्केका थिए । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्षमा राजा त्रिभुवनको लिखित सन्देश पनि युवराजले बोकेर आएका थिए, जुन प्रजातन्त्र दिवसकै बिहान रेडियो नेपालबाट प्रसारण गरिएको थियो । सन्देशमा भनिएको थियो –
प्यारा दिदीबहिनी दाजुभाइहरु,
आज आफ्नो मातृभूमिको महान राष्ट्रिय दिवसको उपलक्षमा तपाईहरुका साथ देशमा रहनुको बदला देशबाट हजारौ कोश टाढा बसी यो हार्दिक सन्देश मात्र पठाउनु पर्दा मलाई ज्यादै अफसोस लागेको छ । तर आजको यो शुभ दिनले फेरि देशमा नयाँ एकताको भावना उठी आपसी मेल मिलापको साथै काँधमा काँध मिलाई देशलाई माथि पुर्याउने शक्ति मिल्नेछ भन्ने यही मेरो हार्दिक शुभकामना छ । अहिलेको परिस्थितिमा म नेपालमा हुनु बहुतै आबश्यक थियो र म आउन पनि तैयार भएको बेलामा अकस्मात फेरी उही पुरानो रोग उल्टी बिल्कुल असक्त अवस्था भएको र डाक्टरहरुले पनि चल्नेसम्म नहुने सल्लाह दिएकोले तुरुन्तै नेपालमा तपाईहरुको सुख दुखमा सरीक भै काँधमा काँध मिलाई वर्तमान परिस्थितिको सामना गर्ने काममा तपाईहरुलाई मद्दत दिन नसक्ने अवस्था भएकोले बहुतै अफसोच लागेको छ । तसर्थ हाललाई छोरा नानी श्री ५ युवराजधिराजलाई यहाँ बोलाई देशको वर्तमान परिस्थिति हेरी कसो गरे देशवासीहरुलाई भलाई हुन्छ । यथासक्य जन-आवाज सुनी आबश्यक सबै कामकाज गर्नू भनी अह्राई ममा रहेको सबै शाही अधिकार पूर्ण तवरले दिई पठाएको छु । तपाईहरुले पनि मुलुक उँभो लाग्ने काममा हर तरहबाट छोरा नानी श्री ५ युवराजधिराज महेन्द्र वी बिक्रम शाहदेवलाई मद्दत दिनुहोला भन्ने पूरा विश्वास राखेको छु । म पनि तपाईहरुको र देशसेवा गर्न समर्थ हुनासाथ चाँडै नै आउनेछु । श्री पशुपतिनाथले देश र देशवासीलाई सदैव सुबुद्धि दिई कल्याण गरुन् ।
मिति- २०११।११।७।६
जय नेपाल
नीस, फ्रान्स
यसरी राजाको सन्देश प्रसारण पछि युवराजको सन्देश पनि रेडियो नेपालबाट नै प्रसारित भएको थियो । युवराजको लामो सन्देशमा शुरुमा बुबाको त्यागका कारण देशमा प्रजातन्त्र आएको सम्झना गर्दै नीस शहरको यात्रा र त्यहाँको जनताको आपसी मेल र अनुशासनको उदाहरण दिनुभएको छ । राजा त्रिभुवनबाट उपचारका लागि यूरोप जानु अगाडि राजकीय परिषद गठन गर्नुभएको थियो । यस अगाडिको राजकीय परिषदमा दुइ रानी र युवराज महेन्द्र रहेकोमा यसपटक दुइ रानी आफू साथ यूरोप जानुपर्ने हुँदा तीन छोराहरु युवराज महेन्द्र, हिमालय र बसुन्धरा सहितको राजकीय परिषदको गठन गर्नुभएको थियो । तर यसमा कम्तिमा दुइ छोराको सहमतिमा मात्र निर्णय गर्नु पाउने अधिकार दिइएको थियो ।
यसरी प्राप्त अधिकारको प्रयोग गर्दै युवराज महेन्द्रबाट राजकीय परिषदबाट केही निर्णय पारित गराउनु भएको थियो । सो सन्देशमा सिलसिलेवार रुपमा विवरण राखिएको थियो । साथै दुइ मन्त्री टंकप्रसाद आचार्य तथा भद्रकाली मिश्रलाई पदमुक्त गराइएको पनि जानकारी दिइएको थियो । अन्तमा राजाबाट आफूलाई राजकाज सम्बन्धि सम्पूर्ण अधिकार दिइएको पनि जनाइएको थियो ।
यसरी युवराज छदै राजकाज सम्बन्धि सम्पूर्ण अधिकार बोकिसकेका हुँदा राजा त्रिभुवनको देहावसान पछि राजगद्धी आसिन हुँदा कामकाजमा कुनै किसिमको अप्ठ्यारो स्थिति सिर्जना हुने देखिएको थिएन । यस बिच मातृकाप्रसादको मन्त्रीपरिषदलाई राजकीय परिषद समक्ष राजीनामा दिन बाध्य बनाइएको थियो ।








प्रतिक्रिया