२६ औँ फ्लोरा एक्स्पोको तेस्रो दिन ३० लाख ७० हजार बढीको कारोबार, १७ हजार बढीले गरे मेला अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । तेस्रो दिन मेलामा १७ हजार भन्दा धेरैले अवलोकन गरेका फ्यानले बताएको छ ।
मेलाको तेस्रो दिन फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा पुष्प ब्यबसायी, मेला अबलोकनकर्ता, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
सोमबार सम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँ भन्दा बढीको कारोवार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ । मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र ज्येष्ठ नागरिकहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला सहसंयोजक सुमन महर्जनले बताए । एक्स्पोमा आलङ्कारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरू, सुनाखरीका फूल बिरुवाहरू, फलफूलका बोटबिरुवाहरूको कारोबार भइरहेको कार्यक्रम संयोजक तथा फ्लोर कल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए । मेलामा फूल प्रेमी तथा अवलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार हुनेमा आफू विश्वस्त रहेको पनि संयोजक तामाङले बताए ।
उपभोक्ता पनि अन्तिम अबस्थामा आउने भएका कारण मेलाको अन्तिम दिन यसअघिको भन्दा धेरै कारोबार हुने अपेक्षा फ्यानको रहेको छ । नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र वि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो । जब २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल को स्थापना भयो तत पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबद्र्धनले गति लिएको हो ।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ । हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ११७४ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दा बढि रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि ५१,५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्व ६८ करोड भन्दा बढि रहेको छ ।








प्रतिक्रिया