चाईल्डसेफनेटले मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिने

ललितपुर । अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सुरक्षा कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत मलेसियामाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम संचालन गरिने छन् ।
चाईल्डसेफनेटद्वारा प्रशिक्षित स्थानीय प्रशिक्षकले चाईल्डसेफनेटका सामग्री प्रयोग गरि मलेसियामा देशव्यापी साइबर सुरक्षा तालिम संचालन गरिने यस कार्यक्रमबाट अस्सी हजारभन्दा बढी प्राथमिक तथा माध्यमिक तहका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । उनीहरुले सुरक्षित रूपमा ईन्टरनेट प्रयोग गर्न र अनलाईन यौन शोषणबाट सुरक्षित रहन सिक्ने छन् ।
चाईल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीका अनुसार संस्थाले नेपालका चालिसभन्दा बढी जिल्लामा साईबर सुरक्षाबारे तालिम संचालन गरिसकेको छ र यस वर्ष देखिँ नेपाल बाहिर पनि कार्यक्रम सुरु गरेको छ । चाइल्डसेफनेटले मलेसियाको साईबरजाया सहरमा तीनदिने प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिसकेको छ, जसले प्रशिक्षकलाई प्रभावकारी रुपमा साइबर सुरक्षाबारे तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान र शीप प्रदान गरेको छ ।
यसका साथै, दुबै संस्थाले मलेसियाका बालबालिकाहरूको आवश्यकताअनुसार विशेष साइबर सुरक्षा सचेतना सामग्री संयुक्त रूपमा विकास गरेका छन् ।
यसै क्रममा चाईल्डसेफनेटले बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी एक पुस्तक तयार पारेको छ । मले र तमिल भाषामा उपलब्ध हुने यस पुस्तक प्रथम चरणमा अस्सी हजार प्रति प्रकाशन हुने र मलेसियाभरि वितरण गरिनेछ, जसले बालबालिका, अभिभावक, र शिक्षकलाई सुरक्षित रूपमा डिजिटल प्रविधि प्रयोग गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया