पर्यटक पर्खिरहेको गिरानचौर

दमौली (तनहुँ) । पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ ।
गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् ।गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय नमूना गाउँ घोषणा गरेपछि स्थानीयवासी यस ठाउँमा पर्यटक भित्र्याउन लागिपरेका हुन् ।
गाउँपालिकाको सहयोग र प्रेरणाले आफूहरु यस ठाउँमा घरबास सञ्चालन गर्ने प्रयासमा जुटेको स्थानीय ओममाया गुरुङले बताए । उनले भनिन्, गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हामीलाई यस ठाउँमा होमस्टे सञ्चालनका लागि उत्प्रेरित गरिा् । हामी स्थानीय अहिले यसमा लागेका छौँ । उनका अनुसार हाल यस ठाउँमा २० घरमा होमस्टे सञ्चालन गरिएको छ भने यसलाई विस्तार गर्ने लक्ष्य राखिएको छ ।
होमस्टे सञ्चालनका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र गाउँपालिकाले नै सिकाएपछि अहिले यसतर्फ अगाडि बढेको उनको भनाइ छ । उनले भनिन्, गाउँपालिकाका अध्यक्षले सधैँ हामीलाई पैसा कमाउनुपर्यो भने, हामीले कसरी चलाउने, हामीलाई त आउँदैन भन्यौँ । उनीहरुले सिकाइन्, पाहुना पनि पठाउन थालिन् ।
केही समय अगाडि मात्रै विद्यालयका एक सय जना शिक्षकहरु यहाँ बास बसेर गएको उनले जानकारी दिए । त्यस्तै कलाकार भटभटे माइला, बल्छी धु्रवेलगायत नामले परिचित कलाकारहरु समेत यहाँ आइसकेको उनको भनाइ छ । यहाँ आउने पाहुनालाई लोकल कुखुरा, गाउँमै उत्पादित आलुको परिकार, गुन्द्रुक, भट्ट, कोदोको रोटी खुवाउने गरिएको छ । त्यस्तै रातिको समयमा चुड्का नाच प्रस्तुत गर्ने गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया