देशभरका कृषिउपजको स्वाद चखाउन अब ‘भोजनलिपि-स्वाद’

नेपालखोज २०८१ चैत ११ गते ५:२३

काठमाडौं । नेपाली खाना प्रवर्द्धन अभियानले देशका विभिन्न क्षेत्रमा उत्पादित ताजा कृषिउपजको स्वाद चाख्न पाइने गरी व्यवस्थापन गर्न लागेको छ ।

अभियानले किसान र होटल व्यवसायीसँगको समन्वयमा सो अवसर दिन लागेको हो । किसानसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूका उत्पादनलाई देशका प्रमुख सहरमा स्वादिष्ट परिकार बनाएर पस्कने अभियानको तयारी रहेको अभियानका संयोजक अमृत सापकोटाले बताए । उनले खाद्यान्न, फलफूल, दूध, माछा–मासु जस्ता किसानका उत्पादनको बजारीकरणमा अभियानले समन्वय गर्ने र होटल–रेष्टुराँ वा घरमै लगेर खान पाउने गरी संयोजन गर्न लागिएको बताए ।

यसै सन्दर्भमा आज काठमाडौँमा आयोजित ‘भोजनलिपि-स्वाद’ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, कृषि, पर्यटन, सञ्चारलगायत क्षेत्रका अगुवाले खानाको स्वाद लिएर अभियान सुरु गरेका छन् । विभिन्न परिकारको स्वाद लिएपछि मन्त्री अधिकारीले नेपाली उत्पादनको बजारीकरणमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीलगायतले राजधानीमै रहेर देशभरका कृषिउपज स्वादिष्ट परिकारका रूपमा खान पाउनु निकै सराहनीय भएको बताए ।

अभियानका संयोजक सापकोटाले सुरुमा खाद्यान्न, फलफूल जस्ता मौसमी उत्पादनको बजारीकरण र विस्तारै पर्यटकीय गन्तव्य, हस्तकला तथा साना उद्यमीहरूका उत्पादनको बजारीकरणमा समन्वय गरिने जानकारी दिए । कृषि उत्पादन र बजारीकरणमा साथ दिएर किसान र माटोप्रति माया जगाउन आफू पनि अभियानमा लागेको सञ्चारकर्मी एवं कृषि–पर्यटन अभियन्ता देवीप्रसाद सापकोटाले बताए । स्वदेशी उत्पादन बढाउने र प्रयोग गर्ने सरकारी कार्यक्रमलाई नागरिकस्तरबाट सहयोग गर्न आफू केही वर्षदेखि लागिरहेको उनको भनाइ छ ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले रैथाने खाना प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्न अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । खाना प्रवर्द्धन अभियानमा अन्तरराष्ट्रिय सेफ दुर्गाबहादुर खड्का र घनश्याम कँडेल जोडिए । नेपाली खानालाई ‘फ्यूजन’ गरी अन्तरराष्ट्रिय बजारमा पस्कने खड्का र कँडेलको तयारी छ । उनीहरूले नेपाली रैथाने खानालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताए ।

प्रतिक्रिया