रोकियो धर्मकीर्ति महाविहार निर्माण कार्य

नेपालखोज २०८१ चैत १५ गते ८:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ ।

कामपाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्‍याङ जोखिमपूर्ण भेटिएको भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएपछि निर्माण कार्य रोकेको जनाएको छ ।

समितिले जोखिमपूर्ण भर्‍याङ भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन समेत निर्देशन दिएको हो । जमिन तलाबाट पहिलो तलामा जाने भर्‍याङका तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यसअघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकाले निर्माण कार्य रोकिएको कामपाको भनाइ छ ।

अनुगमनका क्रममा समितिका संयोजक एवं कामपाको उपप्रमुख डङ्गोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापमा आँखा चिम्लिन नसकिने बताए ।

उक्त विहार बुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो । गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो । एक हजार १७८.१८ वर्गफिट क्षेत्रफल भएको जमिनमा निर्माण हुने चार तले विहारको जमिन तला, पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिटका हुनेछन् । माथिल्लो तला ५७८ दशमलव ६४ वर्गफिट क्षेत्रफलको हुनेछ ।

त्यस्तै वडा नं २२ मा रहेको मूलश्री महाविहार (मुःबाहा) मा रहेको कुमारी द्यो छेँ र वडा नं २४ मा रहेको ब्राम्हिण राजोपाध्याय आगमछेँ निर्माण प्रक्रियाको बारेमा पनि जानकारी लिएको थियो । मूःवहामा रहेको तीन तला र बुइँगल रहेको कुमारी द्यो छेँको सम्झौता रकम रु एक करोड ९२ लाख नौ हजार ११३ रुपैयाँ हो । यसको पुनःनिर्माणका लागि २०८१ भदौ ९ कार्यादेश दिइएको हो । विसं २०८२ फागुन ८ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्छ । पछिल्लो समय कामपाले निर्माणाधीन सम्पदाको अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया