गृहमन्त्री लेखकको प्रमुख आतिथ्यमा एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड सम्पन्न

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड-२०८१’ सम्पन्न भएको छ । नेपाल एपीएफ क्लवले अग्नी ईन्कर्पोरेटेड प्रा.लि. (महिन्द्रा नेपाल अग्नी ग्रुप)को सहकार्यमा प्रथम एपीएफ महिन्द्रा स्पोट्र्स अवार्ड-२०८१ को आयोजना गरेको हो ।
समारोहमा गृहमन्त्री लेखकलगायत उपस्थित विभिन्न महानुभावहरुले समेत खेलाडी तथा प्रशिक्षकहरुलाई अवार्ड प्रदान गरेका थिए । गृहमन्त्री लेखकले सम्मानित हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै खेलकुद कुनैपनि राष्ट्रको पहिचाहन र आधारशीला रहेको बताए ।
उनले खेलकुद शारिरीक व्यायाम वा मनोरञ्जनको माध्यम मात्र नभई समुदायमा एकता, अनुशासन, सहकार्य र स्वस्थ्य प्रतिष्पर्धाको भावनालाई प्रोत्सान गर्ने बताउँदे खेलकुदले व्यक्तिमा आत्मविश्वास प्रदान गर्नुकासाथै देशको नाम उच्च राख्न अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अवसर समेत मिल्ने बताए ।
गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै देश र नागरिकको सेवा सुरक्षामा अग्रणी भूमिका निर्वाह गर्नुकासाथै खेलकुदको क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
उनले यस प्रकारको कार्यक्रमले खेलाडीहरुको मेहनत, समपर्ण र सफलताको सम्मान गर्ने मौका मिल्ने, नयाँ प्रतिभावन खेलाडीहरुसमेत उजागर गर्ने तथा खेलाडीहरुको मनोवल उच्च भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । गृहमन्त्री लेखकले निजी क्षेत्र र सुरक्षा निकायबीचको साझेदारीले खेलकुद विकासमा नयाँ आयायम थप्नुकासाथै अन्य क्षेत्रका लागि समेत प्रेरणाको श्रोत बन्नसक्ने उल्लेख गर्दै खेलकुदले राष्ट्रिय भावनालाई जागृत, बलियो र समृद्ध बनाउने बताए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लवसँग सहकार्य गरी संगठनको मात्र नभई समग्र देशकै खेलकुद क्षेत्रमा उच्च योगदान पुर्याउँदै आएको अग्नी ईन्कर्पोरेटेड प्रा.लि. महिन्द्रा नेपालको समन्वय र सहकार्यको लागि विशेष धन्यवाद दिंदैं यस किसिमका समन्वय र सहकार्यलाई निरन्तरता दिदै खेलकुद मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनुकासाथै थप उपलब्धीहरु समेत हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया