मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुन: निर्माण सुरू

धुलिखेल (काभ्रेपलाञ्चोक) । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलनको औपचारिक सुरुवात यहाँको रोशी गाउँपालिका–२ नारायणटारबाट भएको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘२०८१ को मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आँकलन (डिडिए) शुभारम्भ कार्यक्रम’मा विपद् प्रभावित परिवारको लगत सङ्कलन कार्यक्रम सम्पन्न तथा प्रभावितलाई निस्सा वितरण गर्दै उनले निजी आवास पुनःनिर्माण सुरु भएको बताएका हुन् ।
बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेपलाञ्चोक र त्यसमा पनि रोशी गाउँपालिका रहेकाले विस्तृत क्षतिको आँकलन यहीँबाट सुरवात गरेको गृहमन्त्री लेखकले बताए । उक्त मनसुनजन्य विपद्बाट क्षति पुगेका अन्य जिल्लाको क्षतिग्रस्त निजी घरहरुको विस्तृत क्षति आँकलन प्रारम्भ गर्ने जनाएको छ ।
बजेटको व्यवस्थापन, कानुन, नीति निर्देशिका परिवर्तन गर्नुपर्ने र प्रारम्भिक क्षतिको विवरण भर्ने काममा ढिलाइ भएकाले क्षति आँकलन ढिलाइ भएको उनले स्पष्ट पारे । जसमा अस्थायी आवास निर्माण गर्न दुई चरणमा रु २५/२५ हजार रकम उपलब्ध गराउने र स्थायी घर निर्माणका लागि प्रति घर रु चार लाख उपलब्ध गराउने गृहमन्त्री लेखकले जानकारी दिए ।
अस्थायी घर निर्माणका लागि काभ्रेपलाञ्चोकका लागि रु सात करोड ३५ लाख रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आजै उपलब्ध गराइसकेको गृहमन्त्री लेखकले बताए ।
अब सरकारबाट थालनी गरेको कामलाई ढिला नगरिकन तीव्रता दिन जनप्रतिनिधिलाई उनले आग्रह गरे । जसमा सबै तहका सरकार र सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए ।
प्रतिक्रिया