शुक्रबार, वैशाख १२, २०८२

नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान

नेपालखोज २०८२ वैशाख ४ गते १६:०४

गण्डकी । गण्डकी प्रदेश सरकार र यहाँका स्थानीय तहले नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरूआत गरेका छन् । रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि समुदायस्तरमा ‘स्क्रिनिङ’ अभियान सञ्चालन गरिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काका अनुसार लमजुङ, गोरखा र मनाङ बाहेक प्रदेशका सबै जिल्लामा पहिलो चरणको ‘स्क्रिनिङ’ शिविर सम्पन्न भइसकेको छ । स्वास्थ्य मन्त्रालयले नमुना कार्यक्रमका रूपमा जिल्लाको कुनै एउटा स्थानीय तह छनोट गरेर यो अभियान सञ्चालन गरिरहेको छ, उनले भने, स्थानीय तहले आफ्नै स्रोतसाधन खर्चेर पनि नसर्ने रोगको ‘स्क्रिनिङ’ गर्न सुरू गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले उक्त कार्यक्रमका लागि चालु आवमा प्रदेश सरकारले रु। एक करोड बजेट विनीयोजन गरेको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य सेवा दिवस, बालमैत्री बागलुङ नगर घोषणा कार्यक्रम र प्रजातन्त्र दिवसका अवसरमा नसर्ने रोगको परीक्षण गरिएको जानकारी दिए ।

पछिल्लो समय नसर्ने रोग प्रकोपकै रूपमा वृद्धि भएकाले स्थानीय तहसँहको सहकार्यमा परीक्षण अभियान सुरू गरिएको छ, सङ्घीय सरकारले पनि यो अभियानलाई प्राथमिकता राखेको छ, उनले भने । निरीक्षक घिमिरेले ‘स्क्रिनिङ’ अभियानका क्रममा १५ प्रतिशत जतिमा उच्च रक्तचापको समस्या देखिएको बताए । मधुमेह, मोटोपना आदिका कारण निम्तने स्वास्थ्य समस्या पनि जटिल बन्दै गएको उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले यसअभियानले गण्डकी प्रदेशमा नसर्ने रोगको अवस्था पत्ता लाग्ने बताए । उनले आगामी आवको बजेट तथा कार्यक्रममा पनि यस अभियानलाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया