ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलंकाको चर्चमा गोली प्रहार

काठमाडौं । श्रीलंकाको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ । प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ ।
गोली लागेर चर्चको झ्यालमा केही क्षति पुगे पनि कसैलाई चोटपटक भने लागेको छैन । घटनामा संलग्न भएको आशंकामा एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले चर्चका पादरीसँगको व्यक्तिगत रिसइवीका कारण गोली चलाएको देखिएको छ ।
सन् २०१९ मा इस्टर आइतबारका दिन भएका बम आक्रमणको सम्झनामा सुरक्षालाई ध्यानमा राख्दै अहिले देशभरका चर्चहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
छ वर्षअघि भएका ती आक्रमणमा तीन वटा चर्च र तीन वटा होटलमा विस्फोट हुँदा २७९ जनाको ज्यान गएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । घटनाको दोष एक स्वदेशी अतिवादी समूहलाई दिइएको थियो ।
क्याथोलिक चर्चले यस वर्षको इस्टर सोमबार ती पीडितलाई ‘विश्वासका नायक’ घोषणा गर्दै श्रद्धाञ्जली दिने तयारी गरेको छ ।
घटनापछि पीडित परिवार र क्याथोलिक समुदायले न्यायको माग गर्दै आएका छन् र केही अनुसन्धानले आक्रमणकारी र सुरक्षा निकायबीच सम्बन्ध रहेको पनि देखाएका छन् ।
प्रतिक्रिया