‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।
बुटवलस्थित जितगढी उत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारसँग समन्वय गरेर जितगढी किल्लाको राष्ट्रिय गौरवको विषयलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रयास गरिने बताएका हुन् ।
कर्णेल उजिरसिंहलाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि सङ्घीय सरकारसँग पहल गरिने भन्दै मुख्यमन्त्री आचार्यले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए । ‘नयाँ पुस्तालाई वीरताको गाथा सुनाउन र इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरूरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।’
मुख्यमन्त्री आचार्यले अङ्ग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउनुभयो । आत्मविश्वासकै कारण नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उहाँले उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ पुगेको उल्लेख गरे ।
बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउँदै मुख्यमन्त्री आचार्यले स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पारे । नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको स्मरणमा जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अङ्ग्रेज युद्धका बेला जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।
यस किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले विसं १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको इतिहास छ । तत्कालीन पाल्पाका सेन राजाले अङ्ग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेको बताइन्छ । त्यही फौजले विसं १८७१ देखि पटकपटकको आक्रमण सामना गर्दै अन्ततः विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ ।
अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढीलगायत नेपालका सात स्थानमा अङ्ग्रेजविरुद्ध युद्ध भएका थिए । यहाँ सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । रासस
प्रतिक्रिया