‘सञ्चारकर्मीले खोजमूलक लेखनमा कलम चलाउनुपर्छ’

मोरङ । सञ्चारकर्मीले परम्परागत शैलीमा लेख्ने समाचारलाई परिस्कृत गरी विषय केन्द्रित खोजमूलक समाचारतर्फ कलम चलाउन सरोकार भएकाहरूले दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश तथा प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पाँच दिने ‘लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारलाई खोज पत्रकारिता तालिम’ उद्घाटनका कार्यक्रममा सहभागीले खोजमूलक समाचार लेखनमा सञ्चारकर्मी सक्षम भएर कलम चलाउनुपर्ने आवश्यकता औँल्याएका हुन् । सहभागीले कोशी प्रदेशमा विगत तीन वर्षको अवधिमा लैङ्गिक हिंसा वृद्धि भएकाले समाजलाई सन्तुलन राख्न, हिंसा रोकथाम एवं न्यूनीकरण गर्न सञ्चारकर्मीले आफूले सिकेका ज्ञान र प्रविधि समाचारमा प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले तालिमको उद्घाटन गर्दै नेपालको पत्रकारिता अहिले जटिल अवस्थामा रहेकाले यसलाई जोगाउन सबै व्यावसायिक र जिम्मवार बन्नुपर्ने सुझाव दिए । उनले जुनसुकै आन्दोलनमा सञ्चारगृहमाथि आक्रमण हुनु दुःखको विषय भएको चर्चा गर्दै उनले बढ्दो सामाजिक सञ्जाल र प्रविधिको सदुपयोग गरी सञ्चारकर्मीले सत्यतथ्यका आधारमा समाचार जनता समक्ष पस्कन आग्रह गरे ।
महासङ्घका कोशी प्रदेश अध्यक्ष भरत खड्का, उपाध्यक्ष अम्बिका भण्डारी, महासचिव हेमा चेम्जोङ्ग, केन्द्रीय सदस्य कमल रिमाल, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदिन, बन्धु पोखरेल, विनु चेम्जोङ लिम्बूलगायतले सञ्चारकर्मीलाई व्यावसायिक पत्रकारिता गर्न आग्रह गर्दै श्रमको उचित पारिश्रमिक उपलब्ध गराउन महासङ्घ क्रियाशील रहेको धारणा राखेका थिए । तालिममा प्रदेशका ३० महिला सञ्चारकर्मीको सहभागिता छ ।
प्रतिक्रिया