‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन्’

बरहथवा । सर्लाहीमा छ सय ९१ हेक्टरमा चैते धानखेती गर्न सक्ने सम्भावना छ तर वार्षिक ५० हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुँदै आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानका लागि चैते धानखेती गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत क्षेत्रफल बढ्न सकेको छैन ।
परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहका अनुसार बर्खे धानखेती यहाँ ४५ हजार ९५० हेक्टरमा हुँदै आएको छभने प्रत्येक वर्ष एक लाख ६७ हजार २५८ मेट्रिक टन लगभग धान उत्पादन हुँदै आएको छ ।
अधिकांश समथर भूभाग रहेको यस जिल्ला कृषि उत्पादनका हिसाबले निकै उपयुक्त ठाउँ हो । धान, मकै, गहुँ, कोदो, जौँ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन् । उनले भने, ‘धान उत्पादनमा अभ्यस्त किसान चैते धानखेतीमा भने आकर्षित हुन सकेका छैनन् ।’
चैते धानखेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र कायम गरेको थियो । विसं २०७३ बाट सुरु भएको परियोजना नियमानुसार आव २०७७/७८ सम्म कार्यान्वयनमा ल्याइएको थियो ।
किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायत सामग्री अनुदानमा लगानी गरेको परियोजनाले पकेट क्षेत्रमा समेत खेती विस्तार गर्न नसकेको जनाएको हो । पकेट क्षेत्रमा खेती विस्तार हुन नसक्दा यहाँ चैते धानखेती नगन्य मात्रामा भइरहेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टरमा चैते धानखेती भइहेको हो । सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०–१० हेक्टरमा चैते धानखेती हुँदै आएको छ । बाँकी पालिकामा पाँच, तीन, दुई हेक्टरमा खेती हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
सिँचाइ अभाव
चैते धानखेती गर्ने किसानलाई मुख्य समस्या सिँचाइ हुने गरेको छ । सिँचाइ अभावका कारण यहाँ धानखेती बढ्न नसकेको स्थानीय किसानले बताएका छन् ।
किसानले चैते धानका लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन् । सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान रामआधार रायले बताए ।
जिल्लाका अधिकांश किसानले सुरुमा पम्पसेट र विद्युतीय मोटरबाट पानी हालेर चैते धानखेती गरेका भए पनि समस्या समाधान नभएको उनले जाकारी दिए । यदि स्थानीय तहले सिँचाइका लागि व्यवस्था गरे यहाँ चैते धानखेती र उत्पादन बढ्ने उनको भनाइ छ । बर्खे धानमा भन्दा चैते धानमा रोग कीराको समस्या कम रहने हुँदा धेरै उत्पादन हुने केन्द्र प्रमुख साहले दाबी गरे ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया