प्रधानमन्त्रीले गरे समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउने भएकाले सबैको सहयोग र समन्वय गर्नुपर्ने बताए ।
सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवर्द्धनको दशक बनाउन रणनैतिक कार्ययोजना निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको यात्रामा सहभागी हुन सबै निकाय, वर्ग, समुदाय, क्षेत्रलगायतलाई आह्वान गरे ।
अन्तरराष्ट्रिय श्रम दिवसको अवसरमा श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न र समाजवाद उन्मुख समृद्ध नेपालको संकल्पमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उनले मुलुको समृद्धिको यात्रामा सबै सहभागी हुनुपर्नेमा जोड दिए ।
सरकारले श्रम बजार सूचना प्रणाली निर्माण गर्ने काम अघि बढाएको छ, अब सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढिसकेको छ, प्रधानमन्त्री ओलीले भने, सूचना प्रविधिको विकासका लागि केही चुनौतीहरू हाम्रा सामु देखा परेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै विश्व श्रमिक सङ्गठन (आइएलओ)ले सन् २०२५ ले तय गरेको ‘सेफ्टि एण्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एण्ड द फ्युचर अफ वर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको बताए ।
आइएलओले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ प्रविधिको प्रयोग गरी श्रमिकको स्वास्थ्य र सुरक्षामा गर्न सकिने विषय पनि अघि सारेको छ, आज इन्टरनेट र फोरजी सेवा व्यापक भएका छन्, प्रधानमन्त्री ओलीले भने, उत्पादकत्व अभिवृद्धि गर्न हामीले सूचना प्रविधिको प्रयोगलाई व्यापकता दिँदै आएका छौँ, सूचना प्रविधिको विकास र प्रयोगका सम्बन्धमा हामीले गम्भीर ध्यान दिएका छौँ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको बताउँदै उनले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्य प्राप्त गर्न, सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे । रासस
प्रतिक्रिया