आइतबार, वैशाख २१, २०८२

नेपाली सेनाका अधिकृतबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण

नेपालखोज २०८२ वैशाख २० गते १५:३६

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको बैशाख १९ गते अवलोकन भ्रमण गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालले प्रशिक्षार्थी अधिकृतले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी राखेका विविध जिज्ञासाका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले सशस्त्र प्रहरी बल नेपालको काम, कर्तव्य र जिम्मेवारी लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षार्थी अधिकृतले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।

अवलोकन भ्रमणमा प्रशिक्षार्थी अधिकृतले प्रधान कार्यालयस्थित संग्राहालय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीहरु र केन्द्रीय आदेश कक्षको अवलोकन समेत अवलोकन गरेका थिए । अवलोकन भ्रमणमा नेपाली सेनाका ३५ जना प्रशिक्षार्थी तथा ६ जना प्रशिक्षक अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया