गाजामा युद्ध सुरु भएदेखि १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु : स्वास्थ्य अधिकारी

काठमाडाैं । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीले सोमबार बताएका छन् । उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ ।
गाजाका स्वास्थ्य अधिकारीका फिल्ड अस्पतालका निर्देशक मारवान अल-हाम्सले मृतकमा १६ हजार २७८ बालबालिका रहेका र तीमध्ये नौ सय आठ शिशु र ३११ नवजात शिशु जन्म पछि मरेको बताए ।
आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङ बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको उनले प्रकाश पारे । यसले हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।
इजरायलले पूर्वाधारलाई लक्षित गरेको र सहयोग अस्वीकार गरेको कारण धेरै बालबालिका स्वच्छ पिउने पानी र उचित पोषणमा सीमित पहुँचका साथ दिनको एउटा मात्र अपूर्ण खानामा बाँचिरहेको उनले बताए ।
उनका अनुसार हजारौँ बालबालिका आधारभूत आवश्यकताबिना विस्थापन केन्द्रमा बसिरहेका छन् भने गर्भवतीले अस्पताल पुग्न महत्त्वपूर्ण चुनौतीको सामना गर्नुपरेको छ ।
हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो । पक्षहरू गतिरोधमा रहेका कारण दोस्रो चरण अझै साकार हुन सकेको छैन ।
प्रतिक्रिया